जनकपुरधाम । प्रत्येक वर्ष भाद्र कृष्णअष्टमीका दिन मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व शुक्रबार (आज) श्रीकृष्णको पूजा आराधना गरी धुमधामका साथ मनाइँदैछ ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो । दुर्जनको विनाश गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुको आठौँ अवतारका रुपमा श्रीकृष्णको जन्म भएको शास्त्रमा वर्णन गरिएको छ । अन्याय, अत्याचार र दानवी प्रवृत्तिबाट मानव जातिलाई सुरक्षित बनाउने उद्देश्यले भगवान् विष्णुले मानिसको अवतारका रुपमा श्रीकृष्ण भई धरतीमा जन्म लिएको स्मृतिस्वरुप आजको पर्व मनाउने गरिएको हो ।

कंशको अत्याचारबाट मानव जातिलाई मुक्ति दिनका लागि वासुदेव र देवकीको आठौँ गर्भबाट भगवान् विष्णुको आठौँ अवतारका रुपमा आजको दिन श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ । कंशले जेलनेलसहित बन्दी बनाएको अवस्थामा देवकीबाट श्रीकृष्णको जन्म भएको थियो ।

चारैतिर सेनाको कडा सुरक्षा हुँदा पनि भगवान् विष्णुको मोहित पार्ने शक्तिका कारण श्रीकृष्ण जन्मिएका बेलामा सबै सैनिक गहिरो निद्रामा परेका थिए । त्यसैबेला आकाशवाणीमार्फत वासुदेवलाई ‘नवजात शिशु कृष्णलाई वृन्दावनस्थित मित्र नन्दका घरमा पुर्याऊँ’ भन्ने आकाशवाणी भएको थियो । यही मोहित पार्ने शक्ति भएका कारण आजको रात्रिलाई मोहरात्रि पनि भनिन्छ ।

वासुदेव नन्दको घरमा गई कृष्णलाई त्यहीँ छोडी त्यही दिन नन्द पत्नी यशोदाको गर्भबाट जन्मिएकी बालिकालाई लिएर आएपछि मात्र सैनिक ब्युँझिएको प्रसङ्ग महाभारत ग्रन्थमा उल्लेख गरिएको छ । जनकपुरधामको रेल्वे स्टेशन र गोपाल सेवा समितिमा श्रीकृष्ण जन्माष्टमी धुमधामका साथ मनाउँदैछ । श्रीकृष्ण जन्माष्टमीको अवसरमा पुजा स्थलमा शनिबार भव्य मेलाको समेत आयोजना हुने भएको छ ।

सम्बन्धित खवर