जनकपुरधाम । मधेश प्रदेशको बारा र सिरहा जिल्लाबाट प्रहरीले भारी मात्रामा लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । बाराबाट लागूऔषधसहित दुईजना भारतीय नागरिक पक्राउ परेका छन् ।
शनिवार जिल्लाको कलैया उपमहानगरपालिका–२० बाट उनीहरूलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा भारत बिहार मोतिहारी जिल्ला महुअवा थाना ग्राम पञ्चायत कोरैया–१ का ३२ वर्षीय चन्दन मिश्रा र २ का २५ वर्षीय धर्मजित कुशवाहा रहेका छन् ।
भारतको बिहारबाट नेपाल आएको बीआर ३० आर ९३९१ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले उनीहरूको पिठ्युँमा बोक्ने झोलाभित्र लुकाई छिपाई नेपालमा बिक्रीका निम्ति ल्याएको डाइजेपाम, फेनारगन र नुर्फिन ६–६ सय थान र नाइट्राभेट–१० तीन सय थान लागु औषधसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
लागूऔषध फेला परे पश्चात उनीहरू सवार मोटरसाइकलसहित नियन्त्रणमा लिई थप अनुसन्धानका निम्ति जिल्ला प्रहरी कार्यालय बारा ल्याइएको छ ।
यस्तै, सिरहा प्रहरीले पनि ठूलो मात्रामा लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले लहान नगरपालिका वडा नम्बर–१९ कटहामा स.५ प.७७५५ नम्बरको मोटरसाइकललाई शङ्का लागि चेकजाँच गर्ने क्रममा लक्ष्मिपुरपतारी गाँउपालिका–६ बस्ने ३२ वर्षीय निरन्जन यादवलाई पक्राउ गरेको हो ।
उनको साथबाट फेनरागन, डाईजिपाम र ब्युप्रिनोर्फिनलगायतका लागूऔषध फेला पारेको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएको छ ।
यादवलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय लहानबाट थप अनुसन्धान कार्य भइरहेको प्रहरीको भनाइ छ । केही दिन यता मधेश प्रदेशका जिल्लाहरुमा भारी लागूऔषध कारोबारीहर धमाधम पक्राउ पर्न थालेको हो । सुुरक्षा निकायले सीमामा कडाई गरेसँगै प्रदेशका जिल्लाहरुमा लागूऔषधसहित पक्राउ पर्नेको संख्या बढेको हो । यसअघि बिहीबार धनुषा प्रहरीले पनि १ लाख २० हजार बढी मुल्य बराबरको लागूऔषधसहित एक जनालाई पक्राउ गरेको थियो ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech