काठमाण्डौ । नेपाल विद्यालय कर्मचारी परिषद्को काठमाडौंमा जारी आन्दोलनमा जनता समाजवादी पार्टी, नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले ऐक्यबद्धता जनाएका छन् । अध्यक्ष यादव आइतबार माइतीघर पुगेर आन्दोलनमा ऐक्यबद्धता जनाएका हुन् ।
उनले विद्यालय कर्मचारीको माग सरकारले तत्काल सम्बोधन गर्नुपर्ने बताए ।
विद्यालय कर्मचारी सहायक (लेखापाल) हरूका लागि ३४,७३० मासिक तलब र २००० रूपैयाँ महंगी भत्ता गरि जम्मा रू ३६,७३० दिनुपर्ने, विद्यालय सहयोगीलाई रू २४,२१० र महंगी भत्ता रू २००० गरि रू २६,२१० दिनुपर्ने, शिक्षा ऐन २०२८ को संशोधन गरि विद्यालय कर्मचारीलाई दरबन्दीमा समायोजन गरेर एक पटकको लागि प्रक्रिया पु¥याई स्वतः स्थायी प्रक्रियामा लगिनुपर्ने, ६० वर्ष उमेर पुगेका विद्यालय कर्मचारीलाई प्रचलित कानुन बमोजिम शिक्षक सरहको सेवा सुविधा उपलब्ध गराई सम्मानजनक अवकाशको व्यवस्था गरिनुपर्ने, विभिन्न समयमा गरिएका सहमति, सम्झौता, तथा सर्वोच्च अदालतबाट दिइएको निर्देशन कार्यान्वयनमा ल्याउनुपर्ने लगायतका माग विद्यालय कर्मचारीले राखेका छन् । आन्दोलनमा लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) नेपालले पनि ऐक्यबद्धता जनाएको छ । लोसपाका केन्द्रीय नेता केवश झा आइतबार आन्दोलनस्थल पुगेर ऐक्यबद्धता जनाएका हुन् । देशभरका विद्यालय कर्मचारी आन्दोलनमा सहभागी भएका छन् ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech