जनकपुरधाम । लामो समयदेखि धनुषा, सिरहा लगायतको जिल्लामा जग्गाको कारोबारमा संलग्न जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वरका अमर पजियारसहित दुई जनालाई भारतीय प्रहरीले पक्राउ गरेको छ ।

मानव तस्करीको आरोपमा लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) नेपालका नेतासमेत रहेका पजियारसहित दुई जनालाई नेपाल–भारत सीमा नाकाबाट भारतीय प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा पंजियार र परिचय खुल्न नसकेका एक जना रहेको भारतीय सीमा सुरक्षा बलले जनाएको छ ।

उनीहरुलाई भारत–नेपाल सीमामा तैनात रहेको ४८ औं बटालियन जयनगर एसएसबी बोर्डर अन्तर्गत पिपरौन क्याम्पका जवानहरूले सीमा क्षेत्रबाट पक्राउ गरेको जनाइएको छ । बा २१ च ७१२८ नम्बरको गाडीमा ८ वर्षीया एक बालिकालाई भारतबाट नेपालतर्फ ल्याइरहेको अवस्थामा शुक्रबार राति उनीहरुलाई भारतीय एसएसबीका जवानले नियन्त्रणमा लिएको जनाइएको छ ।

शंकाको आधारमा चेकजाँच गर्दा उनीहरु पक्राउ परेका हुन् । नाबालिकालाई भने हरलाखी थानास्थित भारतीय प्रहरीको जिम्मा लगाइएको छ । उनीहरुले ती बालिकालाई काम लगाउन भारतको विहारस्थित मधुवनी जिल्लाको बाँसोपट्टी गाउँबाट आफ्नो घर लगिरहेको चाइल्ड लाइन सब सेन्टर जयनगरकी सबिता देवीले जानकारी दिइन् । घटनाबारे थप अनुसन्धान सुरु गरिसकिएको प्रहरीले जनाएको छ । पजियारले सिरहा मालपोत कार्यालयबाट धनुषाको जग्गा पास गराएर चर्चामा आएका थिए ।

सम्बन्धित खवर