काठमाडौं । संयुक्त अरब इमिरेट्समा अलपत्र परेका सप्तरीको तोपा–कजौली बस्ने ललित कुमार मण्डललाई मधेशी एकता समाजले उद्धार गरी नेपाल फिर्ता पठाएको छ ।
आवश्यक सबै सहयोग गर्दै कानुनी प्रक्रिया पुरा गरेर मधेशी एकता समाज युएईका उपाध्यक्ष कृष्ण ठाकुरले मण्डललाई गत भदौ १ गते स्वदेश फिर्ता पठाएका हुन् ।
एक नेपाली एजेन्टले काम लगाइदिने प्रलोभन दिएर मण्डललाई भिजिट भिसामा गत जनवरीमा दुबई उडाएका थिए । तर, नेपाली एजेण्टको दुबईमा रहेको बंगाली एजेण्टले त्यहाँको कम्पनीमा भिषा नलगाइकनै काम लगाइदिएका थिए ।
त्यस कम्पनीले तलब र अन्य सुविधा नदिएपछि मण्डलले गत जुलाईको अन्त्यदेखि काम छाडी अजमान बसपार्कको चौरमा भोकभोकै रात बिताउन बाध्य भएका थिए ।
मधेशी एकता समाजका प्रवक्ता ललित रेले मण्डलको अवस्था थाहा पाएपछि मधेशी एकता समाजलाई जानकारी गराएका थिए ।
त्यसपछि समाजका युएई उपाध्यक्ष कृष्ण कुमार ठाकुरले मण्डललाई उद्धार गरेर करिब दुई हप्ता आफूसँग राखेका थिए ।
आवश्यक सबै कानुनी प्रक्रिया पूरा गरी गत भदौ १ गते बुधबार इन्डिगो एयरलाइन्सबाट मण्डललाई उनले नेपाल फिर्ता पठाए ।
स्वदेश फर्किनेक्रममा अबुधाबी विमानस्थलमा प्रतिक्रिया दिँदै पीडित मण्डलले भिजिट भिसामा काम गर्न विदेश नजान सबैलाई आग्रह गरे ।
उनले भिजिट भिसामा खाडी मुलुक गए आफूजस्तै अरुले पनि दुःख पाउने भन्दै नेपाली युवालाई सचेत गराए ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech