जनकपुरधाम । धनुषाको तीन वटा पालिकामा अपाङ्गको समग्र अवस्थामा सुधार गरि आत्मनिर्भर बनाउने उद्देश्यले समुदायमा आधारित समावेशी विकास अन्तर्गत समावेशी जलवायु उत्थानशील सामुदायिक विकास सम्बन्धी परियोजना सञ्चालन हुने भएको छ ।

सीवीएम नेपालको सहयोगमा लाइफ नेपालले जनकपुरधाम उपमहानगरपालिका, मिथिला बिहारी नगरपालिका र औरही गाउँपालिकामा सो परियोजना संचलान गर्ने भएको छ ।

जनकपुरधाममा मंगलबार आयोजित एक कार्यक्रमका बीच परियोजनाको सुरुवात गरिएको हो । सो अवसरमा सामाजिक विकास मन्त्रालयका सचिव इम नारायण श्रेष्ठले संस्थमा आधारित सेवालाई घरपरिवारमा आधारित बनाउनुपर्नेमा जोड दिए । उनले अपांगहरुलाई संस्थासम्म आउन समस्या हुने गरेकोले उनीहरुलाई घरमै गएर सेवा दिनुपर्ने जिकिर गरे ।

कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साहले अवको योजना र कार्यक्रमहरु अपाङ्गमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले कार्यालय भवनलाई अपाङ्गमैत्री बनाउनका लागि चाडै लिफ्ट जडान गर्ने घोषणा समेत गरे ।

मिथिला बिहारी नगरपालिकाका प्रमुख राजेन्द्र प्रसाद यादवले नगरपालिकामा रहेका अपाङ्गहरूको समस्या समाधानका लागि पूर्ण रुपमा सहयोग गर्ने बताउँदै अपाङ्गको मनोबल बढाउने किसिमको नीति तथा कार्यक्रम ल्याउने बताए । यस प्रकारको कार्यक्रमले उनीहरुको जीवनस्तर उकास्न सहज हुने विश्वास उनले व्यक्त गरे ।

औरही गाउँपालिकाका अध्यक्ष उमाशंकर प्रसाद साहले गाउँपालिकाले अपाङ्गहरूको समस्या समाधान गर्नका लागि उचित बजेट तथा कार्यक्रम गर्ने बताए ।

गाउँपालिकाले यो परियोजनालाई हरसम्भव सहयोग गर्ने प्रतिबद्धता समेत उनले जनाए ।

मधेश प्रदेशका स्वास्थ्य निर्देशक विजय कुमार झाले नेपालमा कूल जनसङ्ख्याको २ प्रतिशतमा अपाङ्गताको समस्या भएको बताए । यसरी मधेश प्रदेशमा १ लाख बढी अपांग रहेको उनले बताए ।

तीन पालिकाको १ हजार ५ सय अपाङ्गहरूको समग्र विकासका लागि परियोजनाले काम गर्ने उद्देश्य लिइएको छ । अपाङ्गता भएकाहरूको आत्मबल बढाउने लक्ष्य लिइएको लाइफ नेपालका अध्यक्ष सुरैत ठाकुरले जानकारी दिए ।

सम्बन्धित पालिकाहरूको सहमति र सहकार्यमा शुरु हुने सो परियोजनाले पालिकाहरूको स्वास्थ्य, शिक्षा तथा कृषि नीतिलाई अपाङ्गमैत्री तथा समावेशी बनाउने भएको छ ।

परियोजना बारे अपाङ्गहरूको क्षमता विकासका लागि सिपमूलक प्रशिक्षण दिएर सोही अनुसारको स्वरोजगार गर्नका लागि बिउँ पूँजी पनि प्रदान गर्ने उद्देश्य परियोजनाले लिएको छ । यसका साथै विभिन्न प्रकारको सहयोगी सामाग्रीहरू पनि प्रदान गरिने भएको छ ।

विभिन्न अवस्थामा आउने सबै प्रकारको परिस्थितिको सामना गर्नका लागि बनाइने हरेक नीति तथा कार्यक्रमलाई अपाङ्गमैत्री बनाउनका लागि प्रयास गर्ने भएको छ ।

सम्बन्धित खवर