जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री, मन्त्री र सांसदहरुको तलब भत्ता वृद्धि भएको छ ।

मधेश प्रदेश सरकारको गत २३ साउनको मन्त्रिपरिषद्को निर्णय अनुसार बहालबाला मुख्यमन्त्री, मन्त्री, प्रदेशसभाका पदाधिकारी, सांसद र प्रदेश नीति आयोगका उपाध्यक्ष र सदस्यको तलब वृद्धि भएको हो ।

मुख्यमन्त्री र मन्त्रीहरुको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन २०७५ अनुसूची (१) को क्र.सं. १ मा पारिश्रमिक प्रतिमहिना दुई हजार थप गर्ने र सवारी इन्धनको इकाई दरमा ‘लिटर’ शब्दको पछि ‘प्रति मोटर’ शब्द थप गरी सुविधा उपलब्ध गराउने निर्णय गरेको हो ।

कानून, न्याय तथा प्रदेशसभा मामिला मन्त्रालयले आइतबार आफ्नो आधिकारीक वेबसाइटमा प्रदेश राजपत्र प्रकाशित गरेको छ । जसअनुसार अब प्रदेशका मुख्यमन्त्रीले प्रतिमहिना ६२ हजार ९७० रुपैयाँ तलब पाउने भएका हुन् । यस्तै, मन्त्रीले ५९ हजार ७८० र राज्यमन्त्रीले ५८ हजार ४९० रुपैयाँ तलब पाउने छन् ।

यस्तै मुख्यमन्त्रीलाई प्रतिमहिना ३ सय लिटर सवारी इन्धन दिँदै आएकोमा अब प्रतिगाडी ३ सय लिटर इन्धन पाउने गरी मन्त्रिपरिषद्बाट निर्णय गरेका हुन् । यस्तै, राज्यमन्त्रीले प्रतिमहिना २५० र राज्यमन्त्रीले २२५ लिटर सवारी इन्धन पाउँदै आएका थिए ।

यस्तै प्रदेशसभाका पदाधिकारी र सांसदहरुको समेत दुई हजार तलब बढेको हो । अब सभामुखले प्रतिमहिना ६१ हजार, उपसभामुख, विपक्षी दलको नेता, सत्तापक्षको सचेतकले ५९ हजार ७८०, विपक्षी दलको प्रमुख सचेतक र सभापतिले ५८ हजार ४९० रुपैयाँ तलब पाउने भएका छन् ।

यस्तै प्रदेश नीति आयोगका उपाध्यक्षले ५६ हजार ४९० र सदस्यहरु ५३ हजार रुपैयाँ तलब पाउँदै आएकोमा अब उनीहरुको तलब क्रमशः प्रदेश राज्यमन्त्री तथा प्रदेश सहायक मन्त्री सरह दिने भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव शिवनाथ पौडेलले जानकारी दिए ।

सम्बन्धित खवर