मधेश प्रदेशबाट २९ हजार बढी विद्यार्थी सहभागी हुँदै
जनकपुरधाम । ग्रेड वृद्धिको लागि २०७८ सालको माध्यमिक शिक्षा परीक्षा(एसईई) यही भदौ ११ गते शनिबारदेखि संचालन हुने भएको छ । एसईई ग्रेड वृद्धि परीक्षामा मधेश प्रदेशबाट २९ हजार ४ सय ४६ जना विद्यार्थी सहभागी हुन लागेका छन् ।
गत साउन महिनामा सार्वजनिक भएको एसईई परीक्षाको नतिजामा कमजोर ग्रेड ल्याएका विद्यार्थीहरु परीक्षामा सहभागी हुन लागेका हुन् । पुरक परीक्षामार्पmत अधिकतम दुई विषयको ग्रेड वृद्धि गर्न पाउने व्यवस्था छ ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० सानोठिमी भक्तपुरले लिन लागेको परीक्षाको मधेश प्रदेशमा तयारी अन्तिम चरणमा रहेको छ ।
मधेश प्रदेशका आठ वटै जिल्लाबाट २९ हजार ४ सय ४६ जना विद्यार्थी परीक्षामा सहभागी हुन लागेको शिक्षा विकास निर्देशनालय परीक्षा फाँटका अधिकृत थनेश्वर यादवले बताए । यादवका अनुसार सबैभन्दा बढी धनुषाबाट ६ हजार पाँच सय ६८ जना विद्यार्थी परीक्षामा सहभागी हुन लागेका हुन् । सबैभन्दा कम रौतहट जिल्लाबाट मात्र ६८८ जना विद्यार्थी परीक्षामा सहभागी हुन लागेको उनले बताए ।
पर्साबाट १७८७, बाराबाट ३८२१, सर्लाहीबाट ५१४९, महोत्तरीबाट ४३१२, सिरहाबाट २९३६ र सप्तरीबाट ४२०५ जना विद्यार्थी परीक्षामा सहभागी हुन लागेका हुन् । परीक्षा नियन्त्रण कार्यालयले यही भदौ ११ र १२ गते एसईईको ग्रेड वृद्धि परीक्षा संचालन गर्न लागेको हो ।
मधेश प्रदेशमा उत्तरपुस्तिका व्यवस्थापन लगायतको कार्य शिक्षा विकास निर्देशनालयले गरेको छ ।
प्रदेशका आठै जिल्लामा उत्तर पुस्तिका व्यवस्थापन कार्य अन्तिम चरणमा रहेको निर्देशनालयका परीक्षा शाखाका अधिकृत रमेश कुमार दासले बताए । परीक्षा बिहान ८ बजेदेखि संचालन हुने भएको छ । जिल्लास्थित परीक्षा समन्वय समितिले परीक्षा केन्द्र तोकेको छ । मधेश प्रदेशमा सबैभन्दा बढी विद्यार्थी अनिवार्य गणित विषयको परीक्षा दिने रहेका छन् । अनिवार्य गणितको ग्रेड वृद्धि गर्नको लागि धनुषाबाट मात्रै तीन हजार ६ सय ६६ जना विद्यार्थी परीक्षामा सहभागी हुन लागेको दासले बताए ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech