जनकपुरधाम । चुरे जोगाउने अभियानमा लागेका अभियानी र धनुषा प्रहरीबीच जनकपुरमा घम्साघम्सी भएको छ ।
बिहीबार बिहानदेखि जनकपुरको मिल्सएरिया नजिक सुरु भएको घम्साघम्सी दिउँसो उनीहरु पक्राउ परेपछि मात्रै साम्य भएको थियो । बेरिगेट तोड्न खोज्ने एक सय ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरुलाई बिहीबार दिउँसै छाडिएको धनुषा प्रहरीका प्रवक्ता समेत रहेका प्रहरी नायब उपरिक्षक जीेतेन्द्र खड्काले बताए ।
खड््काका अनुसार निषेधित क्षेत्रमा विरोध प्रदर्शन गर्न खोज्दा १ सय ८ जनालाई नियन्त्रणमा लिएको थियो । केहीबेर पछि नै उनीहरुलाई छाडिएको छ, उनले भने–उनीहरु घरतिर लागेका छन् । पक्राउ पर्नेमा अधिकांश महिला थिए । चुरे तराई मधेश संरक्षण अभियानको पूर्व घोषित कार्यक्रम अनुसार बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तालाबन्दी गर्ने कार्यक्रम थियो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तालाबन्दी गर्न भेला भएका अभियानीहरुलाई प्रहरीले रोकेका थिए । रोक्ने क्रममा प्रहरी र अभियानीहरु बीच घम्साघम्सी भएको थियो । महिलाहरुले बेरिगेट तोडेपछि महिला प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएकी थिइन् । सडकमै विरोध प्रदर्शन गर्दै उनीहरुले प्रदेश सरकार विरुद्ध चर्का नाराबाजी समेत गरेका थिए ।
चुरे तराई मधेश संरक्षण अभियानका मधेश प्रदेश संयोजक अमन यादवलगायतका अभियानीहरु माथि दमन गरी प्रहरीले पक्राउ गरेको अभियानका राष्ट्रिय संयोजक सुनिल यादवले बताए । लोकतन्त्रमा आफ्नो अधिकारका लागि आवाज उठाउँदा दमन शोषण गरी प्रहरीले नियन्त्रणमा लिनु अशोभनीय रहेको उनले बताए ।
उनले केही महिला अभियानीमाथि प्रहरीले लाठीचार्ज समेत गरेको दावी गरे ।
बुधबार उद्योग, पर्यटन तथा वन मन्त्रालयले सिरहाको चोहर्वास्थित मारुती सिमेन्ट उद्योगले सरकारी जमिन कब्जा गरे÷नगरेको विषयमा निष्कर्ष नै ननिकालेको प्रतिवेदन सार्वजनिक गरेको भन्दै उनीहरू असन्तुष्ट भएका छन् ।
डिभिजन वन कार्यालय सिरहाका प्रमुख सुभाष दासले गरेको अनियमितता तथा मारुती सीमेन्ट उद्योगले अतिक्रमण गरेको वनको जग्गा सम्वन्धमा छानविन गर्न मधेश प्रदेश सरकारले अभियानसँग २०७८ भदौ ४ गते गरेको सम्झौता अविलम्व सार्वजनिक गर्नुपर्ने, तराई मधेशका दलित भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीहरु भूमि अधिकारबाट वञ्चित रहेकोले उनीहरुलाई तत्कालै गाँस, वास र कपासको व्यवस्था गर्नुपर्ने, स्थानीय सरकारले उठीबास लगाउने कार्य बन्द गर्नुपर्नेलगायत मागसहित गत वर्षदेखि आन्दोलन गर्दै आएका छन् । गएको साउन ३१ गते दोश्रो चरणको आन्दोलन स्थगित गर्दै तेश्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेका थिए । उनीहरूले लगातार २८ दिनसम्म जनकचोकमा रिले अनसन बस्दै आएपनि सरोकारबाला निकायले गंभिरतापूर्वक नलिएपछि तेश्रो चरणको आन्दोलन घोषणा गरेका थिए ।
अभियानले तेश्रो चरणको आन्दोलन अन्तर्गत १ भदौमा मधेश प्रदेशका आठवटै जिल्लाका जिल्ला प्रशासन कार्यालय अगाडि १ घण्टा धर्ना दिनुका साथै ज्ञापनपत्र बुझाउने, २, ५, ६ र ७ भदौमा आठवटै जिल्लाका जिल्ला प्रशासन कार्यालय अगाडि एक घण्टा धर्ना दिने, ८ भदौमा आठवटै जिल्लाको सदरमुकाममा तीन तहको सरकारविरुद्ध विरोध प्रदर्शन तथा कोण सभा गर्ने र भदौ ९ गते मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि मुख्यमन्त्री लालबाबु राउतको पुतला दहन गरी कार्यालयमा ताला लगाउने कार्यक्रम घोषणा गरेको थियो ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech