जनकपुरधाम । जनकपुरधामको पिरारी चोकस्थि सरकारी जग्गा निजी व्यक्तिको नाममा गरेको आरोपमा गुठी तहसिल तथा खर्च कार्यालयका तत्कालीन प्रमुख मधु प्रसाद बस्ताकोटीसहित ३१ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

सरकारी जग्गा निजी व्यक्तिको नाममा गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तत्कालीन गुठीका प्रमुख बास्ताकोटी, मालपोत कार्यालयका तत्कालीन नायब सुब्बा यमुनाप्रसाद पंजियार, मालपोत कार्यालय धनुषाका तत्कालीन खरिदार जगदेव कामती, काठमाडौंको कमलादी बस्ने कुमार खड्का विक्रम शाहसहित ३१ जनाविरूद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

गुठीका तत्कालीन प्रमुख बास्ताकोटीले सरकारी सार्वजनिक जग्गाहरू गुठी लगत कायम गरी कुमार खड्ग विक्रम शाहको नाममा दर्ता कायम हुनेगरी जग्गाधनी प्रमाण पूर्जा बनाइदिन मालपोत कार्यालय धनुषालाई पत्राचार गरेको पुष्टि भएको अख्तियारले जनाएको छ।

बास्ताकोटीले पदीय मर्यादाको दुरूपयोग गरी सरकारी स्वामित्वमा रहेको साविक पिडारी गाविस–५ का जग्गा गैरकानुनी रूपमा अनधिकृत व्यक्तिका नाममा दर्ता गर्ने गराउने कार्यमा संलग्न भएको अख्तियारको ठहर छ ।

बास्ताकोटीउपर २९ करोड ८८ लाख ८१ हजार ४३७ रूपैयाँ बिगो कायमगरी भ्रष्टाचार मुद्दा दायर भएको अख्तियारले जनाएको छ ।

त्यस्तै मालपोत कार्यालयका तत्कालीन नायब सुब्बा पंजियार र तत्कालीन खरिदार कामतीको हकमा पनि सोही बराबरको बिगो मागदाबी गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

सरकारी कर्मचारीलाई प्रभाव एवं प्रलोभनमा पारी गैरकानुनी रूपमा ८ बिग्हा १० कठ्ठा १२ धुर जग्गा आफ्नो नाममा दर्ता गराइ सरकारलाई हानी पु¥याउने काम गरेको भन्दै अख्तियारले शाहविरूद्ध पनि भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

शाहको मृत्यु भइसकेकोले कैद र जरिवाना हुन नसक्ने भए पनि सरकारी वा निजी बिगो, क्षतिपूर्ति वा रकम भराउन सकिने कानुनी व्यवस्थाअनुसार २९ करोड ८८ लाख ८१ हजार ४३७ रूपैयाँको मागदाबी अख्तियारले गरेको छ ।

मागदाबी गरेअनुसारको रकम शाहको नाममा रहेको कुनै सम्पत्ति वा निजको नामबाट हकवालाको नाममा सम्पत्ति गएको भए त्यहाँबाट असुल उपर हुन मागदाबी गरिएको प्रवक्ता भण्डारीले बताए ।

त्यस्तै शाहको नामबाट ती जग्गाहरूमा जग्गाधनी कायम भएको देखिएकोले जप्mत हुनसमेतको मागदाबी अख्तियारले लिएको छ ।

गएको २३ असारमा अख्तियारले सरकारी जग्गा निजी व्यक्तिले भोगचलन गरिरहेकोबारे सोधपुछ गर्न ३० जनाको नाममा पत्र काटेको थियो । हाल दिवस विक्रम शाह, विभा कुमारी यादव, राजकिशोर महासेठ, विमला देवी, विजय कुमार मण्डल, चन्द्रकला कुमारी देवी, त्रिपुला कुमारी देवी, लिलादेवी यादव, नृपेन्द्र सिंह, रामविपिन साह, संज्ञान देवी, पुष्पा सिंह, लक्ष्मी नारायण मिश्रा, नितु कुमारी झा, शर्मिला कुमारी, रेणु कुमारी राय, नवल किशोर यादव, जयकुमार गोइत, रिता देवी, सिकली देवी यादव, नविन कुमार झा, मनिषा कुमारी झा, मिना कर्ण, राधिका देवी यादव, मोमिना वेगम र गजेन्द्र ठाकुरलाई जग्गाधनी कायम गरेको छ ।

सम्बन्धित खवर