लालबन्दी । सर्लाहीको लालबन्दी बजारबाट एक महिनामा २० करोड बढीको तरकारी निर्यात भएको छ ।
कृषि थोक बजार व्यवस्थापन समितिका अनुसार साउन महिनामा २० करोड दुई लाख एक हजार ७५० रुपियाँको तरकारी निर्यात भएको हो । त्यसमध्ये सबैभन्दा धेरै तीन करोड ७० लाख ४० हजार २५० रुपैयाँको परबल मात्रै निकासी भएको छ ।
यस्तै, परबलपछि लौका तीन करोड ५९ लाख ९९ हजार २५० रुपियाँको निर्यात भएको छ । त्यसैगरी, दुई करोड २८ लाख ७३ हजार ५०० रुपियाँको बोडी, एक करोड ८७ लाख ८६ हजारको गोलभेँडा, एक करोड १५ लाख ५० हजार रुपियाँको हरियो खुर्सानी, एक करोड ५५ लाख ३४ हजार ५०० सय रुपियाँको काक्रो निर्यात भएको छ ।
लालबन्दी बजारमा किसानले ल्याएर बिक्री गर्ने तरकारी काठमाण्डौं, पोखरा, नारायणघाट, हेटौंडालगायत देशका विभिन्न सहरमा निर्यात हुने गरेको छ । मधेश प्रदेशकै प्रसिद्ध तरकारी बजारको रुपमा रहेको लालबन्दी तरकारी बजारमा सर्लाही र महोत्तरीका किसानले तरकारी बेच्ने गरेका छन् ।
यहाँबाट मौसमअनुसार गोलभेँडा, परवल, सिमी, बोडी, लौका, हरियो खुर्सानी, काक्रोलगायतका तरकारी निर्यात हुने गरेको छ । तरकारी बिक्रीबाट यहाँका किसानले मासिक रुपमा राम्रो आम्दानी गर्दै आइरहेका छन् ।
तर, किसानले पछिल्लो समय विषादी र मलखाद महँगो भएको, सो अनुसार तरकारीको भाउ नपाएको गुनासो गर्दै आएका छन् । तरकारीमा बिचौलिया हाबी भएका छन् । खेतबारीमा काम गर्ने कामदारको ज्याला पनि बढेको छ ।
यसअघि असार महिनामा पनि लालबन्दी बजारबाट २० करोड २३ लाख १७ हजार ५०० रुपियाँको तरकारी निर्यात भएको थियो ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech