विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) को वरीयतामा नेपाल यथास्थानमा छ।

फिफाले बिहीबार निकालेको नयाँ वरीयता अनुसार नेपाल अघिल्लो महिनाजस्तै १७६ औं स्थानमा यथावत रहेको हो।

पछिल्लो समय अन्तर्राष्ट्रिय खेल नभएपछि नेपालको वरीयता यथावत रहेको हो।
नेपालले अर्को महिना घरेलु मैदानमा बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने तालिका छ ।

दक्षिण एसियातर्फ नेपाल तेस्रो स्थानमा छ। १०४ औं स्थानमा रहेको भारत दक्षिण एसियातर्फ शीर्ष स्थानमा कायम छ। १५६औं स्थानमा रहेको माल्दिभ्स दक्षिण एसियामा दोस्रो स्थानमा छ।

१८६ औं स्थानमा रहेको भुटान नेपालपछि चौथो स्थानमा रहँदा बंगलादेश १९२ औं स्थानमा पुगेको छ। आफूलाई एक स्थान सुधार गरेको पाकिस्तानन १९६ औं स्थानमा उक्लिएको छ। २०७औं स्थानमा रहेको श्रीलंका दक्षिण एसियाको पुछारमा छ।
एसियन वरियताको शीर्ष स्थानमा रहेको इरानले एक स्थान सुधार गर्दै २२ औं स्थानमा उक्लिएको छ। दोस्रो स्थानमा रहेको जापान २४ औं स्थानमा रहँदा दक्षिण कोरिया २८औं स्थानमा रहँदै एसियामा तेस्रो स्थानमा रहेको छ।

‍विश्व वरियतामा ब्राजिल शीर्षस्थानमा यथावत रहेको छ। बेल्जियम दोस्रो तथा अर्जेन्टिना तेस्रो स्थानमा यथावत रहेको छ।

फ्रान्स, इंग्ल्यान्ड, स्पेन, इटाली, नेदरल्यान्ड्स, पोर्चुगल र डेनमार्क शीर्ष १० मा रहेका छन्। शीर्ष २१ सम्म कुनै परिवर्तन भएको छैन।

विश्वकप आयोजक कतार एक स्थान माथि उक्लदै ४८ औं स्थानमा पुगेको छ।

सम्बन्धित खवर