लालबन्दी । सर्लाहीको दक्षिणी भेगस्थित गोडैता बजारमा रहेको एक आइएमइमा शुक्रबार हतियारधारी समूहले लुटपाट गरेको छ ।

लालिगुराँस बहुउद्देश्यीय कृषि सहकारी संस्थाले गोडैता नगरपालिका–८, स्थित गोडैता बजारमा सञ्चालन गरेको आइएमइमा नचिनेका चार जना नकाबधारी आएर लुटपाट गरेका हुन् । दुईवटा मोटरसाइकल चढेर आएका चार जना नकाबधारीले हतियार देखाएर नौ लाख ५० हजार रुपैयाँ लुटेर लगेका आइएमइका कर्मचारीले बताएका छन् ।

शुक्रबार १० बजेपछि आइएमइ खोल्नासाथ हतियारधारी आएर लुटपाट गरी फरार भएका बुझिएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक विजय यादव नेतृत्वको प्रहरी टोली अहिले घटनास्थमै रहेको छ । प्रहरी नायब उपरीक्षक यादवले आइएमइका कर्मचारीसँग घटनाबारे बुझ्ने काम गरिरहेको बताए ।

हतियारधारीले आइएमइका कर्मचारी र दुई जना सेवाग्राहीको मोवाइल समेत लुटेर लगेका छन् । गोडैता नगरपालिकाका नगरप्रमुख देवेन्द्र यादवले दिनदहाडै हतियार देखाएर आइएमइमा लुटपाट भएपछि स्थानीय त्रसित बनेको जानकारी दिए । आफ्नो पालिकाका अत्यधिक जनसङ्ख्या रहेको तर त्यस अनुसार प्रहरी नरहेकोबारे सुरक्षा अधिकारीहरुलाई बारम्बार ध्यानाकर्षण गराए पनि सुनुवाई नै नभएको नगरप्रमुख यादवले बताए ।

सम्बन्धित खवर