जनकपुरधाम । जनता समाजवादी पार्टी(जसपा) नेपाल चुनावी तयारीमा जुटेको छ । केन्द्रीय सर्कुलर अनुसार मधेश प्रदेशका जिल्लाहरुले शनिबार विस्तारित बैठक गरेको छ । चुनावको तयारीमा केन्द्रीत भएर शनिबार मधेश प्रदेशका धनुषा, महोत्तरी, सिरहा लगायतको जिल्लामा विस्तारित बैठक सम्पन्न भएको छ । धनुषा जिल्ला समन्व समितिको आयोजनामा शनिबार जनकपुरमा विस्तारित बैठक गरिएको छ । बैठकमा मंसिर ४ गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको तयारी विषयमा छलफल भएको छ ।
वडा समिति, पालिका समितिसहित सम्बन्धित क्षेत्रमा रहेका कार्यकारिणी समिति सदस्य, राजनीतिक समिति सदस्य, केन्द्रीय सदस्य, प्रदेश सदस्य, जिल्ला सदस्य, क्षेत्रीय सदस्यहरुको भेलाबाट उम्मेदवारको नाम सिफारिस गरेर पठाउनुपर्ने धारणा नेताहरुले राखेका छन् । जिल्ला अध्यक्ष पशुपति यादवको अध्यक्षता तथा केन्द्रीय कार्यकारिणी समिति सदस्य गजाधर यादवको प्रमुख आतिथ्यमा भएको विस्तारित बैठकमा भदौ १० र ११ गते जिल्लाको चार वटै क्षेत्रमा गठन गरिएको प्रतिनिधिसभा क्षेत्रीय समिति, प्रदेशसभा क्षेत्रीय समिति बारे छलफल भएको छ । बैठकमा राजनीति समिति सदस्य, केन्द्रीय सदस्य, संघीय समिति सदस्य, प्रदेश समिति सदस्य, जिल्ला समन्वय समिति सदस्य, पालिका समिति सदस्य ,निर्वाचित सदस्य लगायतको उपस्थिति थियो । केन्द्रले तोकेको मापदण्ड अनुसार उम्मेदवारको नाम छनौट गरेर सिफारिस गर्ने बारे छलफल भएको जिल्ला अध्यक्ष पशुपति यादवले बताए ।
प्रदेशसभाको उम्मेदवारको नाम सिफारिस प्रतिनिधिसभा क्षेत्रमा गरिने प्रावधान बनाएको छ भने प्रदेशसभासहित प्रतिनिििधसभा क्षेत्रको उम्मेदवारको नाम सिफारिस जिल्ला समन्वय समितिमा गरिने भएको छ । जिल्ला समन्वय समितिले उम्मेदवारको नाम प्रदेश समितिमा पठाउने र प्रदेश समितिले केन्द्रमा सिफारिस गर्ने छ । उम्मेदवारको नामको टुंगो केन्द्रले लगाउने छ । धनुषासँगै शनिबार नै महोत्तरीमा पनि विस्तारित बैठक बसेको छ ।
महोत्तरीमा बिस्तारित बैठक अगावै क्षेत्र नं. २ बाट प्रत्यक्ष र समानुपातिक उम्मेदवारको नाम सिफारिस गरिसकेको छ । शुक्रबार बसेको प्रतिनिधिसभा र प्रदेशसभा क्षेत्रको बैठकले क्षेत्र नं. २ को प्रतिनिधि सभा र प्रदेशसभा क्षेत्रका उम्मेदवारका नाम सिफारिस गरिएको हो । पाँच दलीय गठबन्धन वाँडफाँटमा पनि महोत्तरी–२ जसपाले पाउने पक्का छ । यस्तै सिरहामा पनि विस्तारित बैठक सम्पन्न भएको छ ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech