एसिया कप टी-२० क्रिकेट प्रतियोगितअन्तर्गत आइतबार राति भएको समूह ‘ए’ को बहुप्रतिक्षित भिडन्तमा भारतले पाकिस्तानलाई ५ विकेटले पराजित गरेको छ। दुबईमा पाकिस्तानले दिएको १४८ रनको लक्ष्य भारतले १९ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्यो । भारतको जितमा रवीन्द्र जडेजा र विराट कोहलीले समान ३५/३५ रनको योगदान गरे । यस्तै हार्दिक पाण्डयले अविजित ३३ रन बनाए । यता पाकिस्तानका लागि मोहमद नवाजले ३ तथा शाहानवाज दाहानीले २ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले १९ ओभर ५ बलमा अलआउट हुँदै १४७ रन बनाएको थियो । पाकिस्तानका लागि मोहमद रिजवानले सर्वाधिक ४३ रन बनाए । इफ्तिखर अहमेदले २८ रनको योगदान गरे । त्यस्तै कप्तान बाबर आजम, फखर जमान र शादब खान समान १० रन बनाए ।
भारतका लागि भुवनेश्वर कुमारले ४ विकेट लिए । त्यस्तै हार्दिक पाण्डयले ३ विकेट लिँदा अश्रदिप सिंहले २ र आभेस खानले १ विकेट लिए । यस जितसँगै समूह ‘ए’ को भारतले पहिलो खेलमा २ अंक जोडेको छ । यता पाकिस्तानले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech