लालबन्दी । अनियमित विद्युत् कटौतिको विरोधमा सर्लाही सदरमुकाम मलङ्गवामा युवाले प्रदर्शन गरेका छन् ।
अघोषित लोडसेडिङले हैरान भएपछि स्थानीय युवाले नेपाल विद्युत् प्राधिकरणको मलङ्गवा वितरण केन्द्रको कार्यालय अगाडि पुगेर नाराबाजीसहित प्रदर्शन गरेका हुन् । गर्मीको समयमा छिनछिनमै बत्ती गइरहने र भोल्टेज पनि नआउने समस्याले आजित भएपछि वितरण केन्द्रको ध्यानाकर्षण गराउने उद्देश्यले कार्यालयको मूलगेटमा पुगेर प्रदर्शन गरिएको सहभागी युवाले बताएका छन् ।
युवाले अघोषित लोडसेडिङ बन्द गर, विद्युत् कर्मचारीको लापरवाही नियन्त्रण गरजस्ता नारा लगाएका थिए । विद्युत्को समस्या तत्काल समाधान नभए पुनः अर्को चरणको आन्दोलन गरिने विद्यार्थी नेता समिमबाबु पठानले बताए ।
मलङ्गवाका युवाले यसअघि पनि प्राधिकरणको कार्यालयमै पुगेर अनियमित विद्युत् कटौति नियन्त्रण गर्न ध्यानाकर्षण गराएका थिए । सर्लाही जिल्लाभर नै अनियमित विद्युत् कटौतिले सर्वसाधारण आजित छन् ।
नवलपुरमा सवस्टेशन निर्माण भइ सञ्चालनमा आएपछि अनियमित विद्युत् कटौति र भोल्टेजको समस्या समाधान हुने भनिए पनि समस्या हल हुन सकेको छैन् । जिल्लामा मुख्य बजार क्षेत्रको तुलनामा ग्रामीण भेगमा विद्युत् प्रवाहमा झनै समस्या छ ।
ग्रामीण भेगमा छिनछिनमै बत्ती गइरहने र कुनै प्राविधिक समस्या आए मर्मतका लागि लामो समय लगाउने गरिएको स्थानीयले गुनासो गरेका छन् ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech