जनकपुरधाम । तराई–मधेश लोकतान्त्रिक पार्टी(तमलोपा) र नेपाल सद्भावना पार्टीले लोकतान्त्रिक मधेशी फ्रन्ट गठन गरेको छ ।

दुवै दलले मंगलबार संयुक्त पत्रकार सम्मेलन गरेर लोकतान्त्रिक मधेशी फ्रन्ट गठन भएको घोषणा गरेको हो ।

तमलोपाका अध्यक्ष वृषेशचन्द्र लालले मधेश विद्रोहका मुद्दालाई सही दिशामा अग्रसर गर्दै संस्थागत गर्न, विकासको पारदर्शी स्पष्ट रणनीतिका साथ मधेश र देशलाई संघीयताको अभ्यासमा अघि बढाउने उद्येश्यले दुवै दलले फ्रन्ट गठन गर्ने निर्णय गरेको बताए ।

मधेश बिद्रोहका मुद्दाहरु प्रति प्रतिवद्ध आन्दोलनकारी लोकतान्त्रिक शक्तिहरूबीच एकवद्ध सहकार्य तथा एकजूटताको विकल्प नरहेको उनले बताए ।

प्रदेशका अधिकार यथा प्रशासनिक इकाइ, शान्ति सुरक्षा, न्याय सम्पादन र विधिको अभ्यास, भूमि व्यवस्थान क्षेत्रीय स्वशासनमा समाहित हुन नसकेको उनले जिकिर गरे ।

पत्रकार सम्मेलनमा दुवै दलले संयुक्त प्रेस विज्ञप्ति जारी गरेर संघीयतालाई बाध्यतावश स्वीकार गरेकाहरु नै विभिन्न छलकपट र अस्वभाविक गठबन्धनले राज्य संचालनको क्षेत्रलाई कब्जा गरी यथास्थितिवादलाई आगाडि बढाउनमा लागेको आरोप लगाएका छन् ।

भ्रष्टाचार र अपारदर्शिताले हद पार गरेको वर्तमान स्थितिमा संघीयताको मूल स्तम्भ क्षेत्रीय स्वशासनको अभ्यास सही दिशामा अघि बढ्न नसकेको दुवै दलको ठहर छ ।

संघीय लोकतान्त्रिक शासन प्रणाली, राज्यका सबै अंगमा सबै क्षेत्र र समुदायको समानुपातिक समावेशिता, भेदभावरहित समतामूलक समाजको स्थापना जस्ता मधेश बिद्रोहका मूल मुद्दाहरू ओझेलमा परेको दुवै दलको बुझाइ छ ।

तीनै तहको सरकारमा पुगेकामा सामान्यतया देखिने बादशाहतको कुप्रवृतिले भ्रष्टाचार, जनताको करले संकलित राजस्वको दुरुपयोगर फिजूलखर्ची चरममा पुगेको आरोप दुवै दलले लगाए ।

दलको सिद्धान्त, विचार वा कार्यक्रमको विशिष्टता हेरी मतदाताले दिने समानुपातिक निमित्तको मतको आधार मतको गणितीय गठबन्धनले खोस्न लागेको दावी दुवै दलको छ । तमलोपाका अध्यक्ष लाल र नेपाल सद्भावना पार्टीका अध्यक्ष रामकुमार महतोद्वारा संयुक्त हस्ताक्षरित विज्ञप्तिमा लोकतान्त्रिक मधेशी फ्रन्ट परिचालन समिति गठन गरिएको उल्लेख छ । समितिमा तमलोपाका वरिष्ठा नेता डा. विजय कुमार सिंह, नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता प्रो. राजेन्द्र प्रसाद सिंह कुशवाहा, सहमहासचिव डा. रविन्द्र कुमार चौधरी(राजेश), तमलोपाका केकास रविशंकर कुमार कर्ण, विभा ठाकुर र नेसपाका राष्ट्रिय सल्लाहकार समिति सदस्य प्रो. बालकेश्वर ठाकुर रहेका छन् ।

मधेश आन्दोलनका मुद्दा प्रति प्रतिवद्ध सबै लोकतान्त्रिक शक्तिहरूलाई फ्रन्टमा सहभागि संयुक्त विज्ञप्तिमा आह्वान समेत गरेको छ ।

सम्बन्धित खवर