जनकपुरधाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आउँदो भदौ २७ गते सोमबार जनकपुर आउने भएका छन् । अध्यक्ष ओली करिब साढे चार वर्षपछि जनकपुर आउन लागेका हुन् । अध्यक्ष ओली यसअघि २०७५ बैशाख २८ गते जनकपुर आएका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र तत्काली प्रधानमन्त्री ओलीले जनकपुरधाम–अयोध्या बस सेवाको जानकी मन्दिर परिसरबाट संयुक्त रुपमा उद्घाटन गरेका थिए । उद्घाटन गरेर फर्केदेखि न ओली जनकपुर आएका छन्, न जनकपुरबाट अयोध्या बस चलेको छ । भदौ २७ गते जनकपुरधामको तिरहुतिया गाछीमा हुने पार्टी प्रवेश कार्यक्रममा सहभागी हुनको लागि अध्यक्ष ओली जनकपुर आउन लागेको एमाले धनुषा श्रोतले जनाए । एमाले श्रोतका अनुसार उनी बिहान आएर दिउँसो फर्किने कार्यक्रम छ । अध्यक्ष ओलीले लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) र नेपाली कांग्रेसका प्रभावशाली नेताहरुलाई पार्टी प्रवेश गराउने एमाले धनुषाका एक नेताले बताए । श्रोतका अनुसार लोसपाका कार्यकारिणी समिति सदस्य समेत रहेका पूर्वमन्त्री उमाशंकर अरगरिया, नेपाली कांग्रेसका पूर्व धनुषा उपसभापति संतोष यादव लगायतका नेताहरु एमाले प्रवेश पर्न लागेका हुन् । अरगरिया र यादवबाहेक अन्य पार्टीका नेताहरु पनि प्रवेश गर्ने तयारीमा रहेको एमालेका एक नेताले बताए । उमाशंकर अरगरियासित पार्टी प्रवेशबारे छलफल भइसकेको ती नेताले बताए । यता, कांग्रेसका पूूर्व धनुषा उपसभापति संतोष यादवसित पनि छलफल भइसकेको उनले दावी गरे । ओलीको आवमनले मधेश प्रदेशका कार्यकर्तामा नयाँ उर्जाको संचार हुने तर्क धनुषाका नेताहरुको छ ।
गठबन्धन विरुद्ध एक्लै चुनावमा जाने घोषणा गरेका अध्यक्ष ओलीको लागि मधेश प्रदेशमा पार्टीको घट्दो साख जोगाउने चुनौती छ । माधव नेपाल नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) अल्लगिएपछि मधेशमा एमाले कमजोर भएको हो । धनुषामा पनि एमाले कमजोर भएको पार्टीका नेताहरुले स्वीकार्छन् ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech