गौर । नेपाली कांग्रेसले इँटाभट्टामा हालेर जिउदै जलाएको अभियोगमा पुर्पक्षको लागि कारागारमा रहेका मोहम्मद अफताब आलमलाई प्रतिनिधिसभा सदस्यका लागि सर्वसम्मत सिफारिस गरेको छ ।
कांग्रेसको रौतहट क्षेत्र नं. २ को बिहीबार सम्पन्न क्षेत्रीय कार्य समितिको बैठकले पूर्वमन्त्री आलमको एकल नाम सिफारिस गरेको हो ।
केन्द्रको निर्देशनअनुसार औपचारिकताका लागि महिलाबाट अन्जु झाको नाम सिफारिस भएको छ ।
आलममाथि २०६४ सालको चुनावमा विष्फोटक पदार्थ बनाउने क्रममा घाइते भएका आफ्ना कार्यकर्ता तथा भारतबाट ल्याएका व्यक्तिलाई पोल खुल्ने डरले भट्टामा हालेर जिउँदै जलाएको अभियोगमा मुद्दा चलिरहेको छ । उनी २०७६ कार्तिक २६गते कारागार चलान भएका थिए । हाल उनी नख्खु कारागारमा छन् ।
कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थसम्बन्धी मुद्दामा उनलाई रौतहट जिल्ला अदालतले थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्ने फैसला सुनाएको थियो ।
१५ वर्षअघि रौतहटको राजपुर फरहदवामा भएको बम विस्फोटनसम्बन्धी मुद्दामा आलमलाई प्रहरीले २०७६ असोज २६ गते पक्राउ गरेको थियो । पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन २०६४ चैत २७ गते साँझ आलमको घरछेउमै उनका काका सेख इद्रिसको गोठमा बम विस्फोट भएको थियो । आलमकै निर्देशनमा बनाउन लागिएको बम विस्फोट हुँदा त्यसको छर्रा लागेर घाइते भएकालाई इँटाभट्टामा हालेर मारेको अभियोग उनीमाथि छ ।
आलमलाई ३२ वर्ष कैद सजाय माग दाबीसहित २०७६ कात्तिक १९ गते जिल्ला अदालत गौरमा तीनवटा मुद्दा दर्ता भएको थियो । कर्तव्य ज्यान मुद्दामा २० वर्ष, ज्यान मार्ने उद्योगमा १० र विस्फोटक पदार्थसम्बन्धी मुद्दामा दुई वर्ष कैद सजाय मागदाबी गरिएको थियो ।
यमुनामाई गाउँपालिका ४ का त्रिलोकप्रताप सिंह मारिएको भन्दै बाबु श्रीनारायण सिंह र ओसी अख्तर मारिएको भन्दै आमा रोक्साना खातुनले आलमविरुद्ध कर्तव्य ज्यान मुद्दा दिएका थिए । यस्तै सर्लाही गोडैता–२ का सफी अहमद र भारत सीतामणिका गौरीशंकर राम चमारले बम विस्फोटमा घाइते भएको भन्दै ज्यान मार्ने उद्योगमा उनीविरुद्ध जाहेरी दिएका थिए ।
२०६५ असार ३० गते महान्यायाधिवक्ताको कार्यालयले रोक्सना खातुन वादी रहेको मुद्दामा कोही कसैउपर मुद्दा नचल्ने र पर्याप्त प्रमाण भेटिए मुद्दा चलाउन सकिने निर्णय गरेको थयो। उक्त निर्णयपछि अर्का पीडित नारायण सिंहले सर्वोच्चमा पुनरावेदन गरेका थिए ।
सर्वोच्चले २०६९ जेठ १६ गते मुद्दाको गम्भीरतापूर्वक अनुसन्धान गरी प्रचलित कानुनबमोजिम कारबाही गर्न आदेश दिएको थियो । अदालतको आदेश नमानेको भन्दै पीडित पक्षले २०७३ मा जिल्ला प्रहरी कार्यालय रौतहटविरुद्ध मानहानि मुद्दा दायर गरेका थिए । त्यसपछि निर्देशनालयले २०७५ चैत ८ गते जिल्ला प्रहरी कार्यालयलाई ताकेता गरेको थियो । आलम २०७६ असोज २६ गते बिहान गौर चन्द्रपुर सडक खण्डको इद्रिसगेट नजिकैबाट पक्राउ परेका थिए ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech