लालबन्दी । सर्लाहीमा नेपाली कांग्रेसको क्षेत्र नं. २ को क्षेत्रीय कार्य समितिले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ तीन जनाको नाम सिफारिस गरेको छ ।

प्रतिनिधिसभा सदस्यतर्फ पार्टीका पूर्व केन्द्रीय सदस्य जंगिलाल राय, निवर्तमान जिल्ला सभापति नागेन्द्रकुमार राय र नेता जयहरि श्रेष्ठ (राजु) को नाम सिफारिस गरिएको क्षेत्रीय सभापति कौशलकिशोर रायले जानकारी दिए । २०७४ मा यो क्षेत्रबाट कांग्रेसका जंगिलाल रायलाई भारी मतले पराजित गर्दै तत्कालिन राजपाका नेता हाल नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादव निर्वाचित भएका थिए ।

यस्तै, क्षेत्र नं. २ बाट समानुपातिकतर्फ पूर्व जिल्ला सभापति लक्ष्मण राय र धनमन्ति यादवको नाम सिफारिस भएको छ । क्षेत्र २ को (क) र (ख) बाट प्रदेशसभा सदस्यमा समेत प्रत्यक्ष र समानुपातिक दुवैतर्फका आकांक्षीको नाम प्रतिनिधि सभा क्षेत्रीय कार्य समितिमा सिफारिस भइसकेको छ ।

(क) र (ख) बाट गरी दुई दर्जन बढी उम्मेदवारको नाम सिफारिस भएको क्षेत्रीय कार्य समितिले जनाएको छ । यस्तै, क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यतर्फको उम्मेदवार सिफारिस गर्न बिहीबारबाट छलफल भएको छ ।

बयलवासमा भएको छलफलमा क्षेत्र नं. १ बाट प्रतिनिधि सभाको प्रत्यक्षतर्फ पाँच जनाले दाबेदारी प्रस्तुत गरेका छन् । प्रत्यक्षमा २०७४ को प्रत्यासी समेत रहेका शम्भुलाल श्रेष्ठसहित संविधान सभाका सदस्य रामचन्द्र चौधरी, नेताहरु शिवकुमार गुर्मछाने, उद्धवप्रसाद पौडेल र सन्देश आचार्यले दाबेदारी प्रस्तुत गरेका छन् ।

यस्तै, समानुपातिकतर्फ सुशीला कार्की, भवानीकुमारी कोइराला, सत्यदेवसिंह दनुवार, रजनिकान्त झा, मरनीदेवी साह र सुरेन्द्रबहादुर प्रधानले दाबेदारी प्रस्तुत गरेका छन् । छलफलमा आएका यी नाममाथि क्षेत्रीय कार्य समितिको बैठकमा छलफल सुरु भएको र बिहीबार एक चरण छलफलमा बस्दा कसैको नाममा पनि सहमती नजुटेपछि पुनः अर्को पटक बैठक बस्ने निर्णय भएको क्षेत्र नं. १ का क्षेत्रीय सभापति हरिबहादुर लुंगेलीले बताए ।

क्षेत्र नं. १ बाट प्रदेश क्षेत्रीय कार्य समितिले बुधबार नै (क) र (ख) दुवै क्षेत्रबाट प्रत्यक्ष र समानुपातिक दुवैतर्फ गरी तीन दर्जन बढीको नाम सिफारिस गरिसकेको छ । उम्मेदवार सिफारिस गर्न ३ नं. क्षेत्रको क्षेत्रीय कार्य समितिको बैठक शुक्रबार बस्दैछ ।

४ नम्वर क्षेत्रमा भने बैठक बोलाइएको छैन् । धमाधम उम्मेदवार सिफारिस गर्न थाले पनि मङ्सिर ४ को निर्वाचनमा गठवन्धन हुँदा नेपाली कांग्रेसले सर्लाहीको ४ नं. निर्वाचन क्षेत्र मात्रै पर्ने सम्भावना रहेको कांग्रेसकै नेताहरु बताउँछन् ।

सर्लाहीको क्षेत्र नं. १ जनता समाजवादी पार्टी (जसपा), क्षेत्र नं. २ नेपाल समाजवादी पार्टी (नेसपा), क्षेत्र नं. ३ माओवादी केन्द्र र क्षेत्र नं. ४ कांग्रेसले पाउने सम्भावना बलियो रहेको बताइन्छ । २०७४ मा क्षेत्र नं. १ बाट जसपाका प्रमोद साह, २ बाट (तत्कालिन राजपा) हाल नेसपाका अध्यक्ष महिन्द्रराय यादव, ३ बाट माओवादी केन्द्रका रामेश्वर राय यादव र ४ बाट कांग्रेसका डा. अमरेशकुमार सिंह निर्वाचित भएका थिए ।

मङ्सिर ४ को निर्वाचनमा पुनः १ नं. क्षेत्रबाट जसपाको सचेतक समेत रहेका साह र २ नं. क्षेत्रबाट नेसपाका यादव नै गठवन्धनको उम्मेदवार हुने निश्चितजस्तै रहेको कांग्रेस सर्लाहीका एक नेताले बताए । माओवादीको भागमा पर्न सक्ने क्षेत्र नं.३ बाट रामेश्वर राय यादव वा राजकुमार राय यादवमध्ये एकले टिकट पाउने सम्भावना छ ।

कांग्रेसको भागमा पर्नसक्ने क्षेत्र नं. ४ बाट डा. अमरेशकुमार सिंह र वीरेन्द्रप्रसाद सिंह प्रमुख दाबेदार छन् । अमरेश ४ नं. क्षेत्रको हालका प्रतिनिधि सभाका सांसद र वीरेन्द्र प्रदेश सभा सदस्यमा निर्वाचित भई हाल मधेश सरकारको मन्त्री छन् ।

सम्बन्धित खवर