बन्द गराउन गएका प्रहरीमाथि आक्रमण, आयोजकसहित चार नियन्त्रणमा

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका २२ बिसबिटीमा गणेशपूजाको अवसर पारेर आयोजना गरेको आर्केस्ट्रा कार्यक्रम बन्द गराउन गएका प्रहरीमाथि स्थानीय युवाहरुले आक्रमण गरेका छन् । स्थानीयको आक्रमणले जिरोमाईल प्रहरी चौकीका हवलदार सुजित कुमार झा घाइते भएका छन् । उनको टाउकोमा चार वटा टाँका लागेको प्रहरीले जनाएको छ । उनको उपचार प्रादेशिक अस्पताल जनकपुरधाममा गरिएको छ ।

बिहीबार मध्यराति आर्केस्ट्रा कार्यक्रम बन्द गराउन जिरोमाइल प्रहरी चौकीबाट पुगेका प्रहरीउपर स्थानीय युवा जाइलागेका थिए । आपूmलाई आयोजक बताउने युवाहरुले प्रहरीमाथि ढुंगामुढा गरेको जिरोमाइल प्रहरी कार्यालय सई चौधरी यादवले बताए । यादवका अनुसार उनीहरुले सोभैm प्रहरीमाथि आक्रमण गरेको थियो ।

हिजो(बिहीबार) दिउँसै बिसबिट्टीमा आर्केस्ट्रा कार्यक्रम गर्न लागेको खबर प्राप्त भएलगत्तै कार्यक्रम स्थलमा गएर आयोजकलाई सम्झाइबुझाइ गरेर फर्केपनि मध्यराति महिलाहरु नचाएको खबर आएपछि त्याहाँ पुगेको सई यादवले बताए ।

हिन्दी र भोजपुरी अश्लिल गीतमा महिला नचाइरहेको सूचना पाएपछि बन्द गराउन मध्यरातमा खटिएको प्रहरी टोलीले आर्केस्ट्रा कार्यक्रम बन्द गराउन खोज्दा दर्शक र स्थानीयले प्रहरी टोलीमाथि ढुङ्गामुढा गर्न थालेपछि प्रहरी घाइते भएको धनुषा प्रहरीका प्रवक्ता समेत रहेका प्रहरी नायब उपरिक्षक प्रदिप बहादुर क्षेत्रीले बताए ।

‘सांस्कृतिक कार्यक्रम भनेर हिन्दी र भोजपुरी गीतमा लेडिज(महिला) नचाइरहेको थाहा पाएपछि प्रहरी पुगेको थियो’, धनुषाका प्रहरी प्रवक्ता डिएसपी प्रदिप बहादुर क्षेत्रीले भने, ‘कार्यक्रम बन्द गर्न भनेपछि प्रहरीमाथि ढुङ्गामुढा गर्न थालियो । सो क्रममा प्रहरी हवलदार घाइते भएका छन् ।’

प्रहरीमाथि ढुङ्गामुढा गर्ने आयोजकसहित चार जनालाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका मध्ये एक जनालाई सोधपुछ गरेर शुक्रबार छाडिएको छ । अन्य तीन जना विरुद्ध सामाजिक शान्ति सुरक्षा बिगार्ने कसुरमा मुद्दा चलाउने तयारी रहेको प्रहरी नायब उपरिक्षक क्षेत्रीले बताए । साँझमा गएर सोधखोज गर्दा आयोजकले सांस्कृतिक कार्यक्रम बताएपनि मध्यरातमा आर्केस्ट्रा कार्यक्रम गर्दा प्रहरी पुगेका थिए ।

यसअघि गणेश पूजाकै अवसरमा बसहियामा रहेको आर्केस्ट्रा कार्यक्रम बन्द नगरिएपछि साउण्ड सिस्टम नियन्त्रणमा लिएको थियो । प्रहरी बाहिरिदा महिलालाई नाच्न लगाउने गरेको थियो भने प्रहरी हुँदा भजन सन्ध्या कार्यक्रम बसहियामा गरिएको थियो ।

मधेश प्रदेशका जिल्लाहरुमा आर्केस्ट्रा कार्यक्रममा प्रतिबन्ध लगाएपनि पूजा र मेलाको अवसर पारेर महिला नचाउने गरिएको छ । अश्लिल भोजपुरी गीतहरुमा महिलाले नाच्दा विवाद, झगडा जस्ता घटनाहरु हुँदै आएको छ । आर्केस्ट्रा कार्यक्रमले जिल्लामा शान्ति सुरक्षामा चुनौती थपिएको निष्कर्ष निकाल्दै स्थानीय प्रशासनले यसमा पूर्ण रुपमा रोक लगाएको हो । स्थानीय प्रशासनलाई चुनौती दिदै जनकपुर उपमहानगरपालिकामै यस्ता कार्यक्रमहरु संचालन भएको छ । स्थानीय प्रशासनलाई चुनौती दिदै प्रतिबन्ध लगाइसकेको कार्यक्रम जनकपुरमै आयोजना गरिएको छ ।

सम्बन्धित खवर