कलैया । आफ्नै श्रीमतीको हत्याको आरोपमा श्रीमान र उनका भाउजुलाई बारा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा महागढीमाई नगरपालिका–३ गंजभवानीपुर टोल बस्ने २७ वर्षीय सैमोदिन अंसारी र उनका भाउजू २५ वर्षीया अप्सना खातुन रहेको बाराका प्रहरी उपरीक्षक होमेन्द्र बोगटीले बताए ।

सैमोदिनको श्रीमती २५ वर्षीया सहनाज खातुनको हत्यामा संलग्नता देखिएकोले उनीहरुलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए । अप्सना सहनाजकी जेठानी हुन् ।

भदौं १६ गते बिहीबार सहनाजको घरमै शंकास्पद मृत्यु भएको भनी सूचना प्रहरीले पाएपछि जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले घटनास्थलमा अनुसन्धान गरेको थियो ।

मृतकको शरीरमा कुटपिट गरिएको निलडाम देखिएकोले शव पोष्टमार्टमको लागि त्रि.वि. शिक्षण अस्पताल महाराजगंज, काठमाण्डौ पठाईको प्रहरीले जनाएको छ ।

सहनाजको शरीरमा निलडाम देखिएपछि प्रहरीले सैमोदिनसँग सोधपुछ गर्दा सैमोदिनले घटनामा भाउजु अप्सना समेतको संलग्नता रहेको बताएका थिए ।

प्रहरीले बिहीबार नै उनीहरुलाई पक्राउ गरेर ल्याएको थियो । दुवै जनाविरुद्ध ‘कर्तव्य ज्यान’ मुद्दामा बारा जिल्ला अदालतबाट ७ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक बोगटीले जानकारी दिए ।

सम्बन्धित खवर