जनकपुरधाम । नेपाली कांग्रेस धनुषा नेतृत्व तहबाट असन्तुष्ट बनेका ललन चौधरीले उम्मेदवारी घोषणा गरेका छन् ।

उनी धनुषा–३ (क) बाट उम्मेदवारी दिने घोषणा गरेका हुन् । केही दिन अघि मात्र धनुषा–३(क) को क्षेत्रीय बैठकले मधेश प्रदेश सरकारमा भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका रामसरोज यादवको नाम सिफारिस गरेको थियो । पुरानै नेतालाई दोहोर्याएको आरोप लगाउँदै उनले आइतबार उम्मेदवारी घोषणा गरेका हुन् ।

पञ्चायती शासनविरुद्ध संघर्ष गरेका ‘जिउँदो शहीद’ उपनाम पाएका चौधरीले प्रदेशसभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

कांग्रेसका योद्धा समेत रहेका नेता चौधरीलाई धनुषा कांग्रेसले बेवास्ता गरेको र पटकपटक एउटै व्यक्तिलाई अवसर दिने निर्णय गरेपछि धनुषाको निर्वाचन क्षेत्र नम्बर ३ को ‘क’ बाट आफू उम्मेदवार बन्ने घोषणा गरेका हुन् ।

२०४६ सालमा प्रजातन्त्रका लागि भएको जनआन्दोलनका अगुवा समेत रहेका नेता चौधरीले साथीभाइ, शुभचिन्तक, समर्थकहरुको व्यापक दबाब रहेकाले आफूले प्रदेशसभा सदस्यमा उम्मेदवारी दिने तयारी थालेको बताए ।

उनले कांग्रेस नेता विमलेन्द्र निधिलाई आफूले पटकपटक सहयोग, समर्थन र साथ दिँदासमेत आफ्नो अवमूल्यन गरेकाले आफूले उम्मेदवारी दिने निर्णय गरेको बताए ।

नेता निधिको सिफारिसमा मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री यादवलाई नै पुनः प्रदेशसभा सदस्यका लागि सफारिस गरेपछि चौधरीले स्वतन्त्र रुपमै भए पनि उम्मेदवार बन्ने घोषणा गरेका हुन् ।

सम्बन्धित खवर