बारा । बारामा प्रहरी र डाँका बीच गोली हानाहान भएको छ । डाँकालाई नियन्त्रणमा लिन खोज्दा दुवै पक्षबीच गोली हानाहान भएको हो । शनिबारराति
वीरगञ्ज–पथलैया औद्योगिक क्षेत्रमा पर्ने जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ एरोटेक प्रालिमा मध्यराति लुटपाट गर्न आएको डाँकाहरूको समूहसँग प्रहरीको झडप भएको हो ।
उद्योगमा डाँकाहरू प्रवेश गरेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय, जीतपुरका इन्चार्ज प्रहरी वरिष्ठ नायब निरीक्षक शाहीको कमान्डमा टोली पठाइएको थियो । प्रहरी घटनास्थल पुगेपछि प्रहरी र डाँकाबीच दोहोरो झडप भएको हो ।
झडपको क्रममा डाँकाहरूले एक राउन्ड र प्रहरीले तीन राउन्ड हवाई फायर गरेका थिए । हतियारसहित लुटपाट गर्न उद्योग छिरेका १०–१२ जना डाँकाहरूको समूहमध्ये एकजना डाँकाले फलामको रडले प्रवनानि शाहीको टाउकोमा प्रहार गर्दा उनी गम्भीर घाइते भएका छन् ।
टाउकोमा गम्भिर चोट लागेको शाहीको वीरगञ्जस्थित वीरगञ्ज हेल्थ केयरमा उपचार भईरहेको छ ।
प्रहरीले डाँका समूहका दुईजनालाई नियन्त्रणमा लिन सफल भएको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताए ।
प्रहरीले डाँकाहरूको साथबाट तीन थान गोलीसहित भरुवा बन्दुक र एक थान कटुवा पेस्तोलसहित दुई थान बन्दुक बरामद गरेको छ । डाँकाहरू स्थानीय चोर रहेको र उनीहरू लुटपाट गर्न उद्योगमा गएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा जीतपुर सिमरा उपमहानगरपालिका वडा ९ बस्ने ३५ वर्षीय जयराम पासवान र वडा १० बस्ने वर्ष ४० को जवाहिर महतो रहेका प्रहरीले जनाएको छ ।
राति नै पक्राउ परेका उनीहरुलाई प्रहरीले आइतबार दिउँसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । फरार भएका अन्य ९ जना डाँकाहरुको खोजी कार्य जारी रहेको उनले बताए ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी निरीक्षक रामकाजी थापाका अनुसार
हतियारधारी समूहले उद्योगको स्टोर कोठामा राखेको सिलिण्डर बनाउन प्रयोग हुने पित्तलको भल्भ, जींक बायर, बुस बनाउने डण्डी तथा मजदुरहरुको साथमा रहेको नगद तथा मोवाइल समेत लुटेर भाग्दै थिए ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech