जनकपुरधाम । बृहत्तर जनकपुर क्षेत्र विकास परिषदमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासले छापा मारेर केही कागजात नियन्त्रणमा लिएको छ ।

बृहत्तर जनकपुर क्षेत्र विकास परिषदले गरेको घुम्ती शौचालय खरिद प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालयले अनुसन्धान थालेको छ।

आर्थिक वर्ष २०७५/०७६ मा बृहत्तरले झण्डै ३६ लाखमा खरिद गरेको दुइटा घुम्ती शौचालयमा अनियमितता भएको उजुरी परेको थियो।
उजुरीको आधारमा अनुसन्धानको क्रममा शौचालय खरिद एवं भुक्तानी सम्बन्धीका फाइल आइतबार अख्तियार टोलीले नियन्त्रणमा लिएको अख्तियारको बर्दिबास कार्यालयका प्रमुख गोपालकुमार अधिकारीले जानकारी दिए।

उनका अनुसार कार्यालयलाई दानमा दिइएको गाडी बिक्री सम्बन्धीका फाइल समेत नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ।
बृहत्तरका कार्यकारी अधिकृत बलराम ठाकुरले दानमा दिइएको गाडी आफ्नी श्रीमती इन्दुलेखा कुमारी ठाकुरको नाममा नामसारी गराई बेचेको आरोप छ। यद्यपि कार्यालयलाई कसैले दानमा गाडी नै नदिए पनि चरित्र हत्या गर्न कार्यालयका केही कर्मचारीले नक्कली काजग बनाई अख्तियारमा उजुरी गरेको कार्यकारी अधिकृत ठाकुरले बताए।
आयोगको कार्यालय बर्दिबासले यस अघि वृहत्तरद्वारा जानकी मन्दिरमा भएको विद्युतीकरणमा व्यापक अनियमितता भएको भन्दै उजुरी परेपछि छापा हानेर सो सम्बन्धी कागजात नियन्त्रणमा लिएको थियो ।

सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेंडिंग