जनकपुरधाम । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनमा सिटको भागबण्डा बारे टुंगो लागिसकेको दावी गरेका छन् ।

जनकपुरधाममा सोमबार माओवादी मधेश प्रदेश कमिटीले आयोजना गरेको नेता कार्यकर्ता भेटघाट कार्यक्रममा अध्यक्ष प्रचण्डले गठबन्धनमा सिट संख्याको टुंगो लगाएर कार्यदलले काम गरिरहेको जानकारी दिए । उनले पर्सी(बुधबार) सम्म गठबन्धनमा आवद्ध दलले पाउने क्षेत्रको पनि टुङ्गो लाग्ने बताए ।

सिटको भाग कसलाई कति भन्ने विषयमा सहमति भइसकेको र पर्सी(बुधबार) सम्म कुन क्षेत्र कसको भन्ने पनि तय भईसक्ने उनले थपे ।

अध्यक्ष प्रचण्डले भने, ‘हामी गठबन्धनका सबै दल चुनावी तयारीमा जुटिसकेको छौं ।’

संविधान अनुसार राष्ट्पतिले दोस्रो पटक समेत नागरिकता विधेयक प्रमाणीकरण नगर्ने बारे व्यवस्था नरहेको र राष्ट्रपतिलाई सो अधिकार समेत नरहेको अध्यक्ष प्रचण्डले जिकिर गरे ।

अध्यक्ष प्रचण्डले भने, ‘यदि अब पनि राष्ट्रपतीले प्रमाणीकरण गर्नु हुन्न भने बिकल्पमा अदालत जाने बताए ।

महोत्तरीमा निर्माण हुन लागेको बहुप्राविधिक शिक्षालयको शिलान्यास गर्ने क्रममा उनी सोमबार जनकपुर आइपुगेका थिए ।

महोत्तरीको खयरमारास्थित निर्मल लामा शैक्षिक भवनको सोमबार शिलान्यास गर्दै उनले मुलुकको समग्र विकासको लागि शिक्षाको विकासमा जोड दिएका छन् ।

अध्यक्ष प्रचण्डले शिक्षा क्षेत्रको विकासबिना मुलुक समृद्ध बन्न नसक्ने तर्क गरे ।

उनले निर्मल लामा बहुप्राविधिक शिक्षालय देशकै नमुना विद्यालयको रूपमा विकास हुने विश्वास पनि व्यक्त गरे ।

दक्ष जनशक्ति उत्पादनको लागि देशको बजेटको २० प्रतिशत रकम शिक्षामा छुट्याउनु पर्नेमा जोड दिँदै उनले शिक्षालाई उत्पादनमुखी र बैज्ञानिक बनाउनुपर्ने बताए ।

कार्यक्रममा शिक्षामन्त्री देवेन्द्र पौडेलले देशभरका विद्यार्थी पढ्न आउने ठाउँको रूपमा शिक्षालयलाई विकास गर्न मन्त्रालयले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

देशभरका सबै विद्यालयमा तीन वर्षभित्रमा भौतिक पुर्वाधार बिकासको काम सक्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरे ।

कार्यक्रममा पुर्व शिक्षामन्त्री गिरीराजमणि पोखरेलले बर्दिवासलाई शैक्षिक हबको रूपमा विकास गर्न प्राविधिक शिक्षालयले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

उनले शिक्षालयलाई ठिक ढंगले अघि बढाउन समुदायको भूमिका प्रभावकारी हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा माओवादीका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, शिक्षा राज्यमन्त्री बोधमाया यादव, मधेश प्रदेशका गृह तथा संचारमन्त्री भरत साह, कोइकाका कन्ट्री डाइरेक्टर सुन हु को, माओवादी नेताहरू गणेश साह, रामकुमार शर्मा, बिश्वनाथ साह, बर्दिवास नगरपालिकाका मेयर प्रल्हाद कुमार क्षेत्री, प्रदेश सांसद शारदा थापा सीटीइभीटीका सदस्य सचिव जीवनारायण काफ्ले लगायतको उपस्थिति थियो ।

२०७५ मा स्थापना भएको शिक्षालयमा हाल २८ जिल्लाका ८ सयभन्दा धेरै विद्यार्थी अध्यनरत रहेका शिक्षालयका प्रमुख रमेशकुमार मेहताले जानकारी दिए । कोरियन सरकार (कोइका) को एक अर्ब पाँच करोड रुपैयाँ आर्थिक सहयोगमा भवन निर्माण हुन लागेको हो ।

विद्यालयमा हाल संचालनमा रहेका सातवटा शैक्षिक कार्यक्रमलाई विकास गरेर १२ वटा पुर्याउने तयारी शिक्षालयले गरेको छ ।

सम्बन्धित खवर