मलगंवा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाको सर्लाही ४ बाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ एकल नाम सिफारिस भएको छ ।

सर्लाही ४ प्रदेश (क) र (ख) क्षेत्रले आइतबार संघीय सांसदका लागि नेता थापाको एकल नाम सिफारिस गरेको हो । सोही सिफारिसलाई सोमबार कांग्रेस सर्लाही ४ क्षेत्रीय कार्यसमितिले अनुमोदन गरेर प्रदेश कार्यसमितिलाई पठाएको कांग्रेस सर्लाहीको सभापति सुरेन्द्रकुमार सिंहले जानकारी दिए ।

आइतबार कांग्रेस सर्लाही ४ प्रदेश (क) र (ख) क्षेत्रीय समितिले महामन्त्री गगन थापालाई संघीय सांसदको उम्मेदवार सिफारिस गरेको थियो ।

सोही नामलाई सोमबार ४ नम्बर क्षेत्रीय कार्यसमितिले सर्वसम्मत सिफारिस गरी प्रदेश कार्यसमितिलाई पठाएको छ । युवा नेता गगन थापालाई सर्लाही ४ का जनताले चुनाव लड्न माग गरेका छन् । जनताको माग भएकैले उनको एकल नाम सिफारिस भएको हो,’ सिंहले भने ।

सर्लाही ४ मा संघीय सांसद कांग्रेसकै डा.अमरेशकुमार सिंह छन् । तर, उनको नाम सिफारिसमा परेन । गएको बैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवार विरुद्ध गतिविधि गरेको आरोप लगाउँदै डा. सिंहमाथि कारबाही गरिएको छ ।

सर्लाही ४ (क) प्रदेशमा प्रत्यक्षतर्फ वीरेन्द्रकुमार सिंहको नाम सर्वसम्मत सिफारिस भएको छ । सोही क्षेत्रको समानुपातिकमा युवा नेता रघु कार्कीको नाम पनि सिफारिस भएको छ । (ख) मा प्रत्यक्षतर्फ अशोककुमार सिंहलगायत पाँच जनाको नाम सिफारिस भएको छ ।

कांग्रेस महामन्त्री थापाको निर्वाचन क्षेत्र काठमाडौं ४ हो । सोही निर्वाचन क्षेत्रबाट उनी दुईपटक सांसद भइसकेका छन् ।

यसअघि कास्की १ क्षेत्रीय समितिले पनि नेता थापाको नाम संघीय सांसदका लागि प्रत्यक्षतर्फ सिफारिस गरेर पठाएको थियो ।

यता, सांसद सिंहले सर्लाही–४ बाट आफु ले उम्मेदवारी दिने बताएका छन् । जिल्लामा फरक गुटको कारण आफ्नो नाम सिफारिसमा नपरेपनि टिकट आफुले नै पाउने उनले दावी गरेका छन् । गगनजी काठमाण्डौबाट लड्नुहुन्छ, उनले भने–सर्लाही–४ बाट आफु  लड्छु ।

सम्बन्धित खवर