राजविराज । सप्तरीको डाँक्नेश्वरी नगरपालिका–५ तरहीस्थित सिङ्गो दलित मुसहर बस्ती अझै शौचालयविहीन छ ।

दलित समुदायको बाक्लै बसोबास रहेको उक्त बस्तीमा एउटा पनि शौचालय नहँुदा उनीहरू बस्ती नजिकैको खोलाको खोल्साखोल्सी, बाँसघारी र खेतबारीमा शौचका जाने गर्दछन् । करिब एक सय २५ घरधुरीमा करिब तीन सयको जनसङ्ख्या बसोबास रहेको उक्त बस्तीका स्थानीयवासीहरू दिसा पिसाबका लागि बिहानैदेखि नजिकैको बाँसघारी र खेतबारीमा जाने गरेको स्थानीय मधु सदाले बताए ।

सिङ्गो बस्तीभरि कसैको घरमा शौचालय छैन, त्यसैले बस्तीका महिला र पुरुष सबै नजिकैको बाँसघारी, खोल्साखोल्सी र खेतबारीमा दिसा गर्न पुग्ने गर्छन्, उनले भने, यसका कारण एकातिर बस्तीमा दुर्गन्ध फैलिने गर्छ ।

डाक्नेश्वरी नगरपालिकाले सबै वडाका घरघरमा शौचालय बनिसकेको जनाउँदै २०७६ सालमै सो वडालाई खुला दिसामुक्त घोषणा गरिएको थियो । सिङ्गो दलित बस्तीमा अझै शौचालय बन्न सकेको छैन । उक्त बस्ती नजिकै रहेको चौधरी, साहलगायत जातिको बस्तीमा शौचालय भए पनि छेउमै रहेको मुसहर समुदायको बाक्लो बसोबास रहेको दलित बस्ती भन्ने शौचालयविहीन रहेको सदाको भनाइ छ ।

शौचालय बनाउनु आवश्यक रहे पनि आफ्नो जग्गा नहँुदा शौचालय बनाउन नसकिएको स्थानीयले जनाएका छन् । शौचालय त चाहिन्छ, बनाउने इच्छा पनि छ, स्थानीय रामदेव सदाले भने, “तर शौचालय बनाउने जग्गा छैन, मुस्किलले एक वटा घर बनाएर परिवारसहित बसिरहेका छौँ । अन्य कारणभन्दा पनि जग्गाकै अभावमा शौचालय बनाउन नसकिएको उनको कथन छ । सो बस्तीमा अधिकांश स्थानीय साहु महाजनकमा हरवाचरवाको रुपमा काम गर्दै आएका छन् ।

ऐलानी जग्गामा घर बनाएर बस्दै आएका दलित मुसहर समुदायलाई जग्गासँगै आर्थिक विपन्नताले पनि शौचालय बनाउन समस्या भएको छ । आर्थिक विपन्नता, जग्गाको अभावलगायतका कारणले आफू अझै शौचालय बनाउन नसकिएको अर्का स्थानीय राधादेवी सदाले सुनाए । मजदूरी गरेर कमाएको पैसाले बिहान बेलुकाको गुजारा चलाउनै धौधौ हुन्छ, राधादेवीले भने, शौचालय बनाउन कम्ती पनि रु १५÷२० हजारसम्म पर्छ, तर त्यति पैसा नै छैन् कहाँबाट बनाउनु ? । चाहेर पनि पैसाको समस्या चर्पी बनाउन नसकिएको उहाँको दुखेसो छ ।

गत २०७५ सालमा ऋण लिएर भए पनि फुसको छाप्रो हालेर स्थानीयले बनाएको फुसको छाप्रो शौचालय वर्षा र बाढीले क्षतिग्रस्त भए यता शौचालय बनाउन नसकिएको बताएका छन् । दलित समुदायमा शौचालयको ठूलो समस्या रहेकाले शौचालय बनाउन प्रेरित गर्दै आएको सो बस्तीमा हरवाचरवा सशक्तीकरणको कार्यक्रम सञ्चालन गर्दै आएको श्रीपुर्राज सामुदायिक विकास केन्द्रका सहजकर्तासमेत रहनुभएका स्थानीय नरेश सदाको भनाइ छ ।

शौचालय बनाउनुस्भन्दा उहाँहरू जग्गा छैन, पैसा छैन भन्नुहुन्छ, उनले भने, हामीले शौचालयका लागि संस्थाको तर्फबाट र अन्य निकायबाट पनि सहयोग जुटाइ दिन पहल गरिरहेका छौँ, तर मुख्यतः जग्गाको अभाव छ । कतिपयले शौचालय बनाउने जग्गा नभएर नबनाएका हुन भने कतिपयले सरकारले नै शौचालय बनाइन्छ कि भन्ने सोच राखेकाले नबनाएको डाक्नेश्वरी–५ का वडाध्यक्ष रमेशकुमार चौधरीले बताए ।

 

दलित बस्तीमा जग्गा अभाव त छ, तर जग्गा भएकाले पनि सरकारले शौचालय बनाइदिन्छ, शौचालय बनाउन खर्च किन गर्ने ? भन्ने सोचले त्यस बस्तीमा शौचालय बन्न नसकेको हो, उनले भने ।

सम्बन्धित खवर