हरिवन । सर्लाहीको हरिवन नगरपालिका अन्तर्गत उत्तरी चुरे क्षेत्रबाट सोमबार एका बिहानै प्रहरीले कौडा खेलिरहेका १२ जना जुवाडेलाई नियन्त्रणमा लिएको छ ।
हरिवन नगरपालिका–२, चिसापानीस्थित बगैँचा भित्र बनाईएको छाप्रोमा कौडा (जुवा) खेलिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय मलंगवाको टोलीले सोमबार बिहान २ बजे छापा मारेको हो । जुवा खालबाट नेपाली रुपैयाँ २ लाख ७१ हजार ६०० तथा भारु २५० नगद समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी)विजय यादवले जानकारी दिए । त्यस्तै कौडा ४ पिस , तास ४ पिस, पाउडर २ बट्टा, ओछयाउने कारपेट २ थान, काठको तखता ४ थान, हुक्का १ थान, सानो ईन्भटर १ थान, मोबाईल ८ थान समेत घटनास्थलबाट बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्ने जुवाडे आरोपितहरुमा महोत्तरीको बर्दिबास नपा–८ निवासी २९ वर्षीय हिरा बहादुर श्रेष्ठ, औरही नपा–२ निवासी ३८ वर्षीय हरिनारायण महतो, पर्सा जिल्लाको प्रसौनी नपा–२ निवासी ५४ वर्षीय पानालाल प्रसाद साह, धनुषा जिल्लाको मिथिला बिहारी नपा– ७ निवासी ५९ वर्षीय ईश्वरी साह रहेका छन् । त्यसैगरि सर्लाहीको हरिवन–२ निवासी ४९ वर्षीय टिका प्रसाद घिमिरे, ३० वर्षीय भिम लामा, ४० वर्षीय हरि पौडेल, ३४ वर्षीय मान बहादुर थिङ, हरिवन नपा–१ निवासी ३५ वर्षीय तेज बहादुर गोले र ५३ वर्षीय शंकर श्रेष्ठ, लालबन्दी नपा–१ निवासी ३४ वर्षीय चान्द खाँ र कोडैना गापा–२ निवासी ५४ वर्षीय चुनीलाल चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय मलंगवाका डीएसपी विजय यादव नेतृत्वको टोलीले जुवा खालमा छापा मारेको हो । अभियुक्तहरुलाई जिल्ला प्रहरी कार्यालय मलंगवाकै हिरासतमा राखेर जुवातास नियन्त्रण ऐन अन्तर्गत कार्बाही प्रकृया अगाडि बढाईने प्रवक्ता यादवले जानकारी दिए । अधिकांश अभियुक्तले नाम थर ढाँटेको अनुमान सहित नागरिकता झिकाईएको र नागरिकता प्राप्त भएपछि सहि नाम थर र ठेगाना प्राप्त हुने प्रहरीले जनाएको छ ।
ठूलो बँगैचाको बिचमा छाप्रो बनाएर बारैमास जुवा खेलाउने ठाउँको रुपमा तयार पारिएको स्थानमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले छापा मारेको हो । त्यहाँ जुवा खेलाए बापत बगैँचा धनीले मात्र दिनको १० हजार रूपैंया भाडा लिने गरेको स्थानीयले बताएका छन् ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech