वीरगञ्ज । लोकतान्त्रिक समाजबादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोको नाम पर्साबाट पनि सिफारिस भएको छ ।

मङ्गलबार बसेको लोसपा पर्सा क्षेत्र नम्बर ३ को क्षेत्रीय कार्यसमितिको बैठकले वरिष्ठ नेता महतोलाई पर्सा–३ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनाउन सिफारिस गरेको हो ।

महतोको एकल नाम यसअघि धनुषा ३ बाट पनि प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारको लागि सिफारिस गरिएको थियो । २०७४ को निर्वाचनमा महतो धनुषा ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

पर्सा ३ मा आगामी निर्वाचनका लागि प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारको लागि नेकपा एमालेले राजकुमार गुप्ता, नेपाली काँग्रेसले सुरेन्द्र प्रसाद चौधरी र जनता समाजवादी पार्टीले सांसद हरिनारायण रौनियारकी छोरी डा. मधु गुप्ताको नाम सिफारिस गरेको छ ।

उक्त क्षेत्रबाट २०७४ को निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमका हरिनारायण रौनियार निर्वाचित भएका थिए ।

लोसपाले प्रदेशसभा सदस्यको उम्मेदवारमा पर्सा ३ को (क) बाट शिवपुजन साह तथा क्षेत्र नम्बर ३ को (ख) बाट मालती कुमारी कुशवाहा र निजामुद्दीन सम्मानीको नाम सिफारिस गरेको छ ।

सम्बन्धित खवर