जनकपुरधाम । मधेश प्रदेशमा पनि डेङ्गु रोग तीव्र रुपमा फैलिदै गएको छ । मधेश प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशमा अहिलेसम्म ७९ डेङ्गुको बिरामी फेला परेको छ । सर्लाहीमा सबैभन्दा बढी २५ वटा डेङ्गु रोगका बिरामी फेला परेको मधेश प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झाले बताए । झाका अनुसार महोत्तरीको बर्दिबासमा ११, बारामा १४, धनुषामा दुई, रौतहटमा ७, पर्सामा ५, सिरहामा ३ र सप्तरीमा ४ जना डेङ्गुका रोगी फेला परेका छन् ।
गएको शुक्रबार बर्दिबासमा मात्रै ११ जना डेङ्गु रोगका बिरामी फेला परेको उनले बताए । ‘डेङ्गु फेला परेसँगै स्थानीय तहलाई पत्राचार गरी परिवारका अन्य सदस्य र छिमेकीहरुको परीक्षण गर्नका लागि अस्पतालमा सम्पर्क गर्नको लागि आग्रह गरिएको निर्देशक झाले बताए ।
बिरामी जाँचको लागि निर्देशनालयले किट उपलब्ध गराएको छ, उनले भने ‘बिरामी फेला परेको पालिकाहरुलाई आवश्यक सतर्कता अपनाउनु पर्छ ।
काठमाण्डौबाट डेङ्गु रोग सरेको अनुमान गरिएको छ । काठमाण्डौबाट आउने यात्रीहरुमा निगरानी बढाउन भनेको उनले बताए । औषधी छर्कनका साथै लामखुट्टेको टोकाईबाट लाग्ने यो रोगबाट बच्न सरसफाईमा ध्यान दिन उनले सबैमा आग्रह समेत गरे । घर नजिक पानी जम्न दिनु हुँदैन, उनले भने–पानी जमेको स्थानमा डेङ्गुको सार्ने मच्छर रह्ने गरेका छन् । त्यसैले घर वरिपरि पानी जम्ने ठाउँलाई सुख्खा राख्नुपर्छ । पानी जम्ने ठाउँ सुख्खा राखेमा डेङ्गु रोगबाट बच्न सकिने उनले सुझाव दिए ।
यता, राष्ट्रियसभाका सांसदहरुले पनि डेङ्गु रोग नियन्त्रणमा सरकारको ध्यानाकर्षण गराएको छ ।
सांसद अनिता देवकोटाले डेङ्गु नियन्त्रणलाई लामखुट्टेको लार्भा नाश गर्ने कीटनाशक औषधि छर्कन र सचेतनाका लागि यथाशीघ्र प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराइन् ।
यस्तै, राष्ट्रिय मानवअधिकार आयोगले सरकारलाई डेङ्गु नियन्त्रणमा प्रभावकारी कदम चाल्न आग्रह गरेको छ । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले एक विज्ञप्ति जारी गर्दै डेङ्गुको सङ्क्रमण बढ्दै गएकाले नियन्त्रण गर्न प्रभावकारी कदम चाल्न सङ्घ, प्रदेश र स्थानीय तहलाई आग्रह गरेका हुन् ।
कोरोना महामारी कायमै रहेको अवस्थामा हाल देशव्यापीरुपमा फैलिँदै गइरहेको डेङ्गु रोगका कारण नागरिकको स्वास्थ्यमा पर्न गएको जोखिमको अवस्थाप्रति राष्ट्रिय आयोगले ध्यानाकर्षण भएकोसमेत जनाएको छ ।
डेङ्गु सङ्क्रमणबाट नेपालमा यही भदौ महिनामा एक जनाको ज्यान जानुका साथै पछिल्लो समय पाँच हजार बढी व्यक्ति बिरामी परेको पाइएको विज्ञप्तिमा उल्लेख गरिएको छ । डेङ्गु नियन्त्रण तथा रोकथामका लागि सरसफाइ, जनचेतनालगायत कार्यलाई प्राथमिकताका साथ अगाडि बढाउन आयोग तीनै तहका सरकारलाई आग्रह गरेको छ ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech