वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) का राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले गठबन्धनमा उपेक्षा गरिए जसपा एक्लै चुनाव लड्न तयार रहेको बताएका छन् ।
वीरगञ्जमा बुधबार जसपाको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष यादवले गठबन्धनको बैठकमा सिट बाँडफाँटको छलफल हुँदा जसपालाई उपेक्षा गरिएको जस्तो महशुस भएको बताए । यदि साच्चै उपेक्षा गरियो भने जसपा एक्लै चुनाव लड्न तयार रहेको उनले बताए ।
यादवले जसपाको हैसियत अनुसार सिट बाँडफाँट नगरिए एक्लै चुनाव लड्ने उद्घोष गर्दै त्यहि अनुसारको तयारीमा लाग्न नेता कार्यकर्तालाई निर्देशन पनि दिए ।
आफुहरु गठबन्धनको विरोधी नभएको प्रस्ट्याउँदै उनले अहिलेको गठबन्धनलाई निरन्तरता दिनु पर्ने आजको आवश्यकता भएको बताए । प्रतिगमनकारी शक्तिहरु फेरि पनि सल्बलाउन खोजी रहेका छन्, उनले भने–त्यसैले उनीहरुले फेरि टाउको नउठाउन भनेर गठबन्धनलाई निरन्तरता दिनु आजको आवश्यकता छ ।
अध्यक्ष यादवले आगामी निर्वाचनमा संघीयता र गणतन्त्र विरोधी प्रतिगमनकारी शक्तिलाई जसरी भएपनि परास्त गर्नु पर्ने पनि बताए । त्यसका लागि पनि गठबन्धनलाई निरन्तरता दिनु अहिलेको आवश्यकता भएको उनले बताए ।
आगामी निर्वाचनमा संघीयता र गणतन्त्रका पक्षधरहरु पराजित भए प्रतिगमनकारी शक्तिले संघीयता र लोकतन्त्रलाई समाप्त पार्ने र मधेश फेरि गुलाम बन्ने खतरा रहेको यादवले बताए ।
संघीयता र गणतन्त्रको जननी मधेशी दल रहेको दाबी गर्दै उनले मधेश विद्रोहकै कारण मुलुकमा संघीयता र गणतन्त्र आएको बताए । यादवले भने,‘ मधेश विद्रोहकै कारण संघीयता र गणतन्त्र आएको हो , यदि मधेश विद्रोह नभएको भए यो देशमा न संघीयता आउथ्यो न गणतन्त्र नै । त्यसैले संघीयता, गणतन्त्र लगायतका प्राप्त राजनीतिक उपलब्धीको रक्षा गर्ने मुख्य अभिभारा जसपाकै भएको उनले बताए ।
जसपा पर्साका अध्यक्ष रामनरेश प्रसाद यादवको अध्यक्षतामा भएको अगुवा कार्यकर्ता भेलामा जसपाका राजनीतिक समिति सदस्यहरु हरिनारायण रौनीयार, देवेन्द्र मिश्रा, बालकिशोर यादव, मोहन चौधरी, केन्द्रीय सदस्य करिमा बेगम, सलमा खातुन, जिल्ला इन्चार्ज सिंहासन साह कलवार लगायतले आ आप्mनो धारणा राखेका थिए ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech