जनकपुरधाम । नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले एक सय भन्दा कम सिटमा गठबन्धन नगर्न पार्टीलाई सुझाव दिएका छन् ।
जनकपुर विमानस्थलमा बुधबार पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै नेता कोइरालाले काँग्रेसमा वडा तहदेखि निर्वाचित भएका नेताहरूको संख्या ठूलो भएकाले पार्टीको नेता व्यवस्थापनका लागि प्रतिनिधिसभामा कम्तीमा एक सय सिट लिनुपर्ने बताए । त्यो भन्दा कम सिट लिएर गठबन्धनलाई निरन्तरता दिदा पार्टीभित्र विद्रोहको अवस्था सिर्जना हुने बताए ।
पार्टी केन्द्रीय समितिले पाँच दलीय गठबन्धनमा तालमेल गरेर चुनावमा जाने निर्णय गरिसकेकाले गठबन्धन हुनेमा आशंका नरहेको बताए । काँग्रेस सबैभन्दा ठूलो लोकतान्त्रिक शक्ति भएकाले दलका नेताहरूले कम सिटमा सहमति गर्न नहुने उनले उल्लेख गरे ।
नेता कोइरालाले जीतको सुनिश्चितता भएको ठाउँमा मात्र गठबन्धन दल बीचमा सहमति हुनुपर्ने बताए । गठबन्धन दलका बीचमा भएको सहमति अनुसार आगामी सरकार नेपाली काँग्रेसको नेतृत्वमा बन्ने नेता कोइरालाले दावी गरे ।
नेता कोइरालाले कुनै दललाई काँग्रेसले ठूलो बनाई दिनुपर्ने बाध्यता नभएको बताउँदै गठबन्धन गर्दा पार्टीहीतलाई सर्वोपरि राख्नुपर्ने तर्क गरे ।
उनले जिल्ला जिल्लाको भ्रमणको क्रममा गठबन्धन नगर्ने आवाज पनि उठेको बताए ।
नेता कोइरालालाई स्वागत गर्नका लागि नेपाली काँग्रेस धनुषाका सभापति योगेन्द्र पञ्जियार, पूर्वमन्त्री रामकृष्ण यादव, केन्द्रीय सदस्य डा. चन्द्रमोहन यादव र नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल सहितका नेताहरू उपस्थित रहनुभएको थियो ।
नेपाल प्रेस युनियनको बिहीबारदेखि जनकपुरधाममा हुन लागेको केन्द्रीय समितिको बैठकको उद्घाटन गर्न नेता कोइराला जनकपुरधाम आएका हुन् । जनकपुरधाम आइपुगेका नेता कोइरालाले बुधबार धनुषा निर्वाचन क्षेत्र नं. २ को औरहीमा नेता कार्यकर्तालाई भेटघाट गरेका छन् ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech