जनकपुरधाम । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नेकपा एमालेको गलत तथा स्वेच्छाचारी क्रियाकलाप रोक्न बाँध्यताबस नेपाली कांग्रेसले गठबन्धन गर्नुपरेको बताएका छन् । नेपाल प्रेस युनियनद्वारा १०९औँ विपी जयन्तीका अवसरमा जनकपुरधाममा बिहीबार आयोजित विपी विचार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र अबका चुनौती विषयक विचार गोष्ठीमा उनले नेपाली काँग्रेसले गरेको गठबन्धन दलहरूसँग विचार र सिद्धान्त नमिलेको जिकिर गरे ।
पाँचदलीय गठबन्धन बिचित्रको रहेको छ, नेता कोइरालाले भने–विचार र सिद्धान्त नमिल्ने दलहरुसँग गठबन्धन भएको छ । गठबन्धनका कारण अहिले नेपाली कांग्रेस अप्ठ्यारो अवस्थामा रहेको उनले दावी गरे ।
डा कोइरालाले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसले गठबन्धनभित्र प्रत्यक्षतर्फ एक सय सिट पाउनुपर्ने जिकिर गर्दै गठबन्धनका कारण नेपाली कांग्रेसलाई कुनै अप्ठ्यारो पर्न नहुने बताए ।
एमालेले संविधानलाई प्रहार गरेपछि त्यसलाई बचाउन गठबन्धन गरिएको उनले स्पष्ट पारे । यो गठबन्धन पवित्र हो कि अपवित्र त्यो निर्वाचनपछि मात्र थाहा हुन्छ, डा कोइरालाले भने–कांग्रेसमा उम्मेदवारका आकांक्षी नेताको व्यवस्थापन गर्न पनि कांग्रेस पार्टीलाई प्रत्यक्षतर्फ मात्र एक सय सिट आवश्यक छ ।
उनले प्रेस स्वतन्त्रता बिना लोकतन्त्रको सुदृढीकरण हुन नसक्ने भएकाले प्रेसमाथि कुनै पनि बहानामा अंकुश लगाइए लोकतन्त्रका लागि खतरा हुने बताए ।
डा.कोइरालाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता नभएसम्म लोकतन्त्रले सही दिशा दिन नसक्ने बताए ।
उनले बिपी कोइरालाले प्रेसको आलोचनालाई सहज रुपमा लिएर सुधारको प्रयास गर्दै आएको उदाहरण दिदै प्रेसले लोकतन्त्र तथा सुशासनको पक्षमा कलम चलाउनुपर्नेमा जोड दिए ।
उनले जघन्य अपराध गर्नेलाई उन्मुक्ति दिनको लागि ल्याउन लागेको विधेयक मुलुकका लागि ठिक नभएको बताए । परराष्ट्र नीतिका विषयमा गठबन्धन दलहरूका बीचमा एक मत नदेखिनु पनि मुलुकको लागि हितकर नभएको उनले प्रष्टयाए ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. चन्द्रमोहन यादवले बिपीको बिचार अहिले पनि महत्वपूर्ण भएको उल्लेख गर्दै त्यसलाई पार्टी तथा नेतृत्वले आत्मसात गर्न आवश्यक रहेको बताए ।
अर्का केन्द्रीय सदस्य किरण यादवले नेपाली काँग्रेसले बिपी कोइरालाको विचारलाई छोड्दै गएकोमा चिन्ता व्यक्त गरिन् । उनले पत्रकारहरूले पनि निष्पक्ष रुपमा कलम चलाउनुपर्ने बताइन् ।
नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेसका नेता तथा पूर्व मन्त्री रामकृष्ण यादव, वरिष्ठ पत्रकार तारानाथ दाहाल, राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साह, नेपाली काँग्रेस धनुषाका सभापति योगेन्द्र पञ्जियार, युनियनका मधेश प्रदेशका उपाध्यक्ष अनिल कुमार कर्ण सहितका वक्ताहरूले बिपीका विचार अहिले पनि सान्दर्भिक भएको बताए ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech