जनकपुरधाम । जनता समाजवादी पार्टी(जसपा) मधेश प्रदेश समितिले प्रतिनिधिसभा र प्रदेशसभाको लागि उम्मेदवारहरुको नाम केन्द्रमा सिफारिस गरेको छ ।

जसपा मधेश प्रदेश समितिको दुई दिनसम्म चलेको छलफलपछि बिहीबार प्रत्यक्ष र समानुपातिकतर्फ सम्भावित उम्मेदवारको नाम केन्द्रमा सिफारिस गरिएको हो । जनकपुरमा बसेको प्रदेश समितिको पदाधिकारीहरुको बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि प्रत्यक्षतर्फ तिन / तिन जनाको नाम सिफारिस गरिएको मधेश प्रदेश समितिका मुख्य सचिव दिनेश यादवले बताए ।

यादवका अनुसार सप्तरीको प्रतिनिधिसभा क्षेत्र नं. २ बाट राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवको एकल नाम सिफारिस गरिएको छ । अन्य सबै प्रतिनिधिसभा क्षेत्रमा प्रत्यक्षतर्फ तिन / तिन जनाको नाम सिफारिस गरिएको उनले बताए ।

प्रदेशसभा निर्वाचनमा पनि प्रत्यक्षतर्फ प्रत्येक क्षेत्रबाट तिन / तिन  जना उम्मेदवारको नाम सिफारिस गरिएको हो । मधेश प्रदेश समितिले बुधबार नै सिफारिस पठाइसक्नुपर्नेमा जिल्लाहरुबाट अत्यधिक नाम आउँदा समय लागेको उनले बताए ।

जसपामा प्रतिनिधिसभाको तुलनामा प्रदेशसभातर्फ प्रत्यक्ष र समानुपातिकमा पनि बढी आकांक्षी छन् । प्रदेशसभा निर्वाचनको लागि प्रत्यक्षतर्फ पनि १०/१० जनाको नाम जिल्लाबाट सिफारिस भएर आएको थियो, मुख्यसचिव यादवले भने–लामो छलफल गरेर तिन / तिन जनाको नाम पठाइएको छ ।

समानुपातिकतर्फ प्रतिनिधि र प्रदेशसभा दुवैको लागि एक जिल्लाबाट पाँच / पाँच जना महिला र पुरुषको नाम सिफारिस गरिएको छ । आठै जिल्लाबाट प्रतिनिधिसभा निर्वाचनको लागि समानुपातिकतर्फ ४० जना महिला र उत्तिकै पुरुषको नाम सिफारिस गरिएको छ । प्रदेशसभा निर्वाचनको लागि पनि आठै जिल्लाबाट ४० जना महिला र ४० जना पुरुषको नाम सिफारिस गरेको हो । जसपा केन्द्रीय सर्कुलर अनुसार प्रतिनिधिसभा र प्रदेशसभा क्षेत्रीय समितिको बैठकले प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारको नाम जिल्ला समन्वय समितिमा सिफारिस गरेको थियो । जिल्ला समन्वय समितिले प्रत्यक्षतर्फ प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रबाट बढीमा पाँच जनाको नाम सिफारिस गर्नुपर्ने थियो । तर, कार्यकर्ताको दबाबका कारण जिल्ला समन्वय समितिले क्षेत्रबाट सिफारिस भएर आएका सबैको नाम प्रदेश समितिमा पठाएको थियो । अव केन्द्रले उम्मेदवारको टुंगो लगाएर टिकट वितरण गर्ने छन् ।

सम्बन्धित खवर