काठमाडौँ । शीर्ष नेताहरुबीच सिट बाँडफाँटबारे छलफल चलिरहँदा मधेस प्रदेश कार्यसमितिले बैठकबाट निर्णय नै गरेर मधेसमा कांग्रेसले ६० प्रतिशत सिट आफ्नो लागि राख्नुपर्ने निर्णय गरेको हो । मधेसका आठ जिल्लामा मात्रै ३२ निर्वाचन क्षेत्र छन् । गठबन्धनको अर्को दल जनता समाजवादी पार्टीले मधेसमा धेरै सिट दाबी गरिरहेको छ । यस्तोमा मधेस कांग्रेसले भने यसपटक मधेसमा कांग्रेसको अवस्था विगतभन्दा पनि धेरै सुधारिएको र कांग्रेसको पक्षमा जनलहर आएको दाबी गर्दै सिट बाँडफाँटमा ध्यान पुर्याउन नेताहरुसँग माग गरेको हो । ‘मधेसमा कांग्रेसको सबैभन्दा धेरै जनाधार छ । कांग्रेसको जग भनेकै मधेस हो । मधेसमा धेरै सिट अन्य दललाई दिएर हुने गठबन्धनले मधेसको कांग्रेसलाई अन्याय हुन्छ,’ प्रचार विभाग प्रमुख नितेशकुमार गुप्ताले भने, ‘हामीले ६० प्रतिशत कांग्रेसलाई राखेर बाँकी सिटमा मात्रै तालमेल गर्ने निर्णय गरेका छौँ । त्यहीअनुसार शीर्ष नेताहरुलाई हामीले ध्यानाकर्षण गराइरहेका छौँ ।’ बिहीबार बसेको मधेस प्रदेश कार्यसमितिको बैठकले क्षेत्र र जिल्लाबाट सिफारिस भएका उम्मेदवारहरुको नामसमेत रायसहित केन्द्रमा पठाएको छ ।
क्षेत्रबाट सिफारिस नभएका नेता अमरेशकुमार सिंहको नाम प्रदेशले भने सर्लाही-४ कै लागि सिफारिस गरी पठाएको छ । क्षेत्रको सिफारिसमा छुटेका पूर्वकोषाध्यक्ष चित्रलेखा यादव र सीतादेवी यादवको नामसमेत प्रदेश कार्यसमितिले सिफारिस गरी पठाएको प्रचार विभागका प्रमुख गुप्ताले बताए ।
‘क्षेत्र र जिल्लामा छुटेका शीर्ष नेताहरुको नामसमेत प्रदेशबाट सिफारिस भएको छ । कतिपयले जिल्ला र क्षेत्रले सिफारिसमा नराखेको भनेर गुनासो गर्दै निवेदन दिनुभएको थियो । उहाँहरुको नाम समेत प्रदेश कार्यसमितिले सिफारिस गरेको छ,’ उनले भने ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech