जनकपुरधाम । जनता समाजवादी पार्टी(जसपा) नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले गठबन्धनको नाउँमा आत्मघाती कदम चाल्न बाध्य नरहेको बताएका छन् ।

पिछडा वर्ग महासंघको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष यादवले लोकतन्त्र र संघीयताको रक्षाको लागि गठबन्धन अपरिहार्य रहे पनि मधेशी, दलित, आदिवासी जनजातिको प्रतिनिधित्वमा ह्रास आउने गरि गठबन्धनको नाउँमा आँखा चिम्लेर आत्मघाती कदम चाल्न तयार नरहेको स्पष्ट पारे ।

संघीयता र गणतन्त्र संकटमा परेको बेला जनता समाजावादी पार्टीकै नेतृत्वमा गठबन्धन निर्माण गर्ने कार्य भएको स्मरण गराउदै अध्यक्ष यादवले आफुहरु गठबन्धनको पक्षमा रहेपनि संघीयता र गणतन्त्रको लागि ऐतिहासिक भूमिका निर्वाह गरेकोले सम्मानजनक रुपमा सिट बाँडफाँड गरेर तालमेल गर्नुपर्नेमा उनले जोड दिए । उनले सघीयता र गणतन्त्रलाई बचाउनका लागि गठबन्धन गरिएको हो । तर प्रदेश र संघको निर्वाचनमा सन्तोषजनक सीट नपाएमा गटबन्धनबाट अलग्गिन सक्ने संकेत गरे ।

मधेशको शक्तिलाई कमजोर आंकलन नगर्न काँग्रेस, कम्युनिष्टलाई चेतावनी दिदै अध्यक्ष यादवले मधेशको शक्तिले सम्मानजनक स्थान पाए मात्र गठबन्धन बलियो हुने बताए ।

उनले सामाजिक विकृतिको रुपमा रहेकोपिछडा वर्गहरु माथिको अन्याय अन्त्यको लागि संवैधानिक रुपमै पहल गर्नुपर्ने उल्लेख गर्दै दलित र पिछडा वर्गको उन्नति विना देशमा समृद्धिको कल्पना गर्न नसकिने बताए ।

कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले समाजको ठुलो हिस्सा रहेको पिछडा वर्गको उत्थानका लागि प्रदेश सरकार तत्पर रहेको बताए । उनीहरुको सामाजिक उत्थानको लागि प्रदेश सरकारले बजेट विनियोजन समेत गरिसकेको उनले बताए ।

उनले पिछडा वर्गको सूचिकरण लगायतका कामको लागि छुट्टै समिति बनाउनु आवश्यक रहेको उल्लेख गर्दै ऐन बनाउन नसकिए पनि गठब आदेश बाटै समिति बनाउने प्रक्रियामा रहेको बताए ।

पिछडा वर्ग महासंघका अध्यक्ष भरत महतोको अध्यक्षतामा भएको उक्त उद्घाटन सत्रमा प्रदेश सभा सदस्य रामअशिष यादव, जसपा नेता बलराम महतो लगायतले सम्बोधन गरेका थिए ।

सम्बन्धित खवर