जनकपुरधाम । जनता समाजवादी पार्टी(जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले संघीय लोकतान्त्रिक गणतन्त्र मधेश आन्दोलनको देन रहेको बताएका छन् ।

मधेश आन्दोलनको क्रममा धनुषा जिल्लामा शहादत प्राप्त गरेका नितु यादव, संजय चौधरी र दिलिप यादवको सातौं स्मृति दिवसमा शनिबार मुजेलियामा आयोजित श्रद्धाञ्जलीसभामा उनले यस्तो बताए ।

उनले शहीदहरुको शहादत कहिल्यै नबिर्सेर पार्टीले मधेशको अधिकारको लागि अझै संघर्षरत्त रहेको बताए ।

जसपा जनकपुरधाम नगर समितिका अध्यक्ष विष्णुदेव साहको अध्यक्षतामा आयोजित श्रद्धाञ्जीसभामा अध्यक्ष यादवले शहीदहरुले दिएको शहादतबाट प्राप्त संघीयता र समावेशित लगायतका मुद्दाहरु संस्थागत गर्ने जिम्मा आफुहरुको काँधमा रहेको उल्लेख गर्दै आफ्नो कदम पछाडी नहटाउने प्रतिवबद्धता समेत व्यक्त गरे । मुलुकमा विभेद विरुद्धको लडाई अझै जारी रहेको उलेख गर्दै अध्यक्ष यादव शहीदहरुले देखाएको बाटोमा आफुहरुको लागि मार्ग निर्देशन रहेको उल्लेख गरे ।

अध्यक्ष यादवले २०७२ साल भदौ २५ गते “चलु जनकपुर भरु जनकपुर” कार्यक्रम अन्तर्गत शहादत भएका शहीदहरूको स्मरणमा जनकपुरधाममा निर्माण गरिएको शालिकमा माल्यार्पण तथा श्रद्धाञ्जली अर्पण गर्दै आन्दोलनको क्रममा शहादत भएका शहीदहरू नितु यादव, सञ्जय चौधरी र दिलिप यादवसहितका शहीदहरू तस्वीरमा माल्यार्पण गरेका थिए ।

उनीहरुको स्मृतिमा जनकपुरधाम उपमहानगरपालिकाले शहीदद्वारको निर्माण गरेको हो ।

श्रद्धाञ्जली सभामा राजनीति समिति सदस्य लालकिशोर साह, केन्द्रीय सदस्य एवं प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादव, प्रदेश सरकारको पूर्व आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र कुमार यादव, वडाध्यक्ष पुण्यप्रताप यादव सहितका वक्ताहरूले शहीदहरूको सपना साकार गर्न आफूहरू लागिपरेको बताए ।

२०७२ साल भदौ २५ गते चलु जनकपुर भरु जनकपुर कार्यक्रम सफल पार्न विभिन्न गाउँहरुबाट जनकपुर आउने क्रममा जनकपुरधाम उपमहानगरपालिका–१९ का नितु यादव, क्षीरेश्वरनाथ नगरपालिका महेन्द्रनगरका संजय चौधरी र लक्ष्मीनियाँ गाउँपालिका–१ अरेरबाका दिलिप यादवको प्रहरीले चलाउँदा शहादत प्राप्त गरेका थिए । कार्यक्रममा शहीद परिवारलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

सम्बन्धित खवर