काठमाडौं । आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि १ लाख १५ हजार जना म्यादी प्रहरीका लागि भर्ना खुलेको छ । प्रहरी प्रधान कार्यालय नक्शालले आज सूचना जारी गरी भर्ना खुलेको जानकारी दिएको हो ।

म्यादी प्रहरीमा भर्ना हुन इच्छुकले यही भदौ ३० गतेदेखि असोज ६ गतेसम्म दरखास्त दिन सक्ने छन् । दरखास्त सबै जिल्लाका जिल्ला प्रहरी कार्यालयमा दिन सकिने छ । १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका र साधारण लेखपढ गर्न जान्नेहरुले दरखास्त दिन सक्ने छन् ।
म्यादी प्रहरीको सेवा अवधि ४० दिनको हुनेछ। म्यादी प्रहरीको सेवा तथा सुविधा पनि तय गरिएको छ।
म्यादी प्रहरीले प्रतिदिन ८६९ रुपैयाँको दरले ४० दिनसम्मको पारिश्रमिक पाउने छन् । उनीहरुले खाद्यान्न बापत एकमुष्ट ७ हजार २ सय रुपैयाँ, पोशाक तथा अन्य सामग्री खरिद गर्न ६ हजार रुपैयाँ (हिमाली जिल्लामा खटिनेलाई थप १ हजार), आउने–जाने खर्च १ हजार रूपैयाँ र ३०० रुपैयाँको दरले ४ दिनको खाजा खर्च पनि पाउने छन् ।
आवेदक दरखास्त फारम दर्ता गर्ने अन्तिम मितिसम्म १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्नेछ । त्यस्तै नेपाली नागरिक हुनुपर्ने, साधारण लेखपढ गर्न जान्ने, नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय नपाएको, राजनीतिक दलको सदस्य नरहेको, शारीरिक तथा मानसिक रूपले स्वस्थ रहेको, आतङ्ककारी सङ्गठनको सदस्य नरहेको, आँखा माइनस २ वा प्लस २ भन्दा बढी कमजोर नभएको, पुरुषको हकमा घटीमा उचाइ ५ फिट २ इन्च, छाती ३१–३३ इन्च, तौल ५० के.जी. र महिलाको हकमा घटीमा उचाइ ५ फिट, तौल ४२ के.जी. भएको तथा गर्भवती नभएको÷नरहेको हुनुपर्नेछ ।

सम्बन्धित खवर