जनकपुरधाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमबार(आज) जनकपुरधाम आउन लागेका छन् । सोमवार बिहान साढे दश बजे जनकपुरधाम आइपुग्ने कार्यक्रम रहेको नेकपा एमाले धनुषाले जनाएको छ ।

सोमबार तिरहुतिया गाछीमा हुन लागेको पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली जनकपुरधाम आउन लागेका हुन् । उनी झण्डै साढे चार वर्ष पछि जनकपुर आउन लागेका हुन् । यसअघि उनी २०७५ बैशाख २८ गते जानकी मन्दिरमा आएका थिए । उनको स्वागत र कार्यक्रम भव्य बनाउन नेकपा एमाले मधेश प्रदेश समिति र जिल्ला समिति समेत तयारीमा जुटेका छन् । गाउँगाउँबाट कार्यकर्ता जुटाउन एमालेले माइकिंग लगायत स्थानीय एफएम रेडियोहरुमार्पmत प्रचार प्रसार अघि बढाएका हुन् ।

सोमबार दिउँसो हुन लागेको पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस धनुषाका पूर्व उपसभापति संतोष यादव लगायतका नेताहरुलाई विधिवत रुपमा एमाले प्रवेश गराउने छन् । नेता यादव एमाले नेताहरुसित नजिक भइसके पनि विधिवत रुपमा प्रवेश भने सोमबार मात्रै गर्ने छन् ।

पार्टी प्रवेश कार्यक्रममा सहभागी हुनु अगाडि अध्यक्ष ओलीले नेपाल बुद्धिजीवी परिषद् मधेश प्रदेशको जनकपुरको यात्री निवासको सभाकक्षमा सोमवारदेखि सुरु हुने प्रथम अधिवेशनको समेत उद्घाटन गर्ने एमाले धनुषाले जनाएको छ ।

बिहान अधिवेशनको उद्घाट्न पछि तिरहुतिया गाछीमा एमाले धनुषाले आयोजना गर्न लागेको पार्टी प्रवेश कार्यक्रममा समेत अध्यक्ष ओलीको सहभागि हुने छन् । परिषद्का केन्द्रीय सचिव एवम् मधेश प्रदेश इन्चार्ज अर्जुन सिंहको संयोजकत्वमा हुन लागेको अधिवेशनमा प्रदेशको आठ वटा जिल्लाबाट २ सय प्रतिनिधि सहभागी हुने बताइएको छ । करिब तीन सय भन्दा बढी बुद्धिजीवीहरुको सहभागितामा अधिवेशन सम्पन्न हुने धनुषा सचिव झाले जानकारी दिए । क्रमशःजिल्ला समिति हुँदै पालिका समितिहरुको गठन पछि प्रदेश अधिवेशन हुन लागेको उनले बताए । अधिवेशनबाट प्रदेश स्तरीय समितिको गठन गरिने जनाइएको छ भने अधिवेशन दुई दिन सम्म चल्नेछ ।

सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेंडिंग