जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग एक्लै लड्ने आँट कसैसँग नरहेको दावी गरेका छन् ।
नेकपा एमाले धनुषाले सोमवार जनकपुरधाममा आयोजना गरेको जनसभा एवम् पार्टी प्रवेश कार्यक्रममा पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले एक्लै आँट नहुँदा गठबन्धन गरेर सामना गर्न खोजेको बताए ।
कुनै पनि पार्टीले गठबन्धन नगरिकन एमाले तिर नहेरे हुन्छ, उनले भने,‘शेरबहादुरजीेले यो कुरो राम्ररी बुझनु भएको छ । लामो समयपछि जनकपुर आइपुगेका ओलीले एमाले बाहेकका कुनै पार्टीले अस्तित्व जोगाउन सक्ने अवस्था नरहेको दावी गरे ।
कसैको नाम नलिइकनै गठबन्धनका शीर्षस्थ नेताहरुलाई ईंगित गर्दै भने,‘उहाँहरुको कामले, नीति र विचारले पार्टी जोगाउने अवस्था छैन, अब उहाँहरुको पार्टी अस्तित्वमा रहन गाह्ै छ ।’
अफवाह फैलाएर जनताको भविष्य अन्धकारमा पार्ने छुट कसैसंग नरहेको उनले प्रष्ट पारे ।
केहि व्यक्तिहरुले एमाले पहाडियाहरुको पार्टी रहेको भन्दै बदनाम गर्ने द्ुष्प्रयास गरेको बताउँदै सयौंका संख्यामा रहेका मधेशी नेता कार्यकर्ताहरु तर्फ देखाउँदै उनले भने,‘यो मधेशिको पार्टी हो, यो पहाडियाको पार्टी हो ।’
उनले प्रमाणीकरण गर्न राष्ट्रपति विद्यादेवी भण्डारीकहाँ पुगेको नागरिकता विधेयक काम नलाग्ने बताए । विधेयकमा धेरै प्रावधान गलत रहेको उल्लेख गर्दै त्यसलाई सच्याउन उनले आग्रह गरे ।
जन्मसिद्ध सन्तानलाई वंशजको नागरिकता दिइने प्रावधान समेटे एक÷दुई दिनमै पारित हुन सक्ने ओलीले थपे ।
मंसिर ४ गते हुन लागेको निर्वाचनले मुलुकको भविष्य निर्धारण हुने भएकोले प्रतिनिधिसभा तथा प्रदेशसभामा पनि एक नम्बर पार्टी बनाउनका लागि कार्यकर्तालाई तयारीमा जुट्नको लागि निर्देशन दिए । अध्यक्ष ओली एमाले कुनै पनि दलसंग गठबन्धन नगरेपनि तालमेल गर्न सक्ने बताए । ओलीले भने, ‘हामीले कहिलेकाँही कुनै कुनै पार्टीको रेस्क्यु गरिदुनुपर्छ लोकतन्त्रमा । तालमेल हुन सक्ला तर गठबन्धन हुन सक्दैन् । यो अपवित्र कुरा हो । सिद्धान्तहीन, नीतिहीन, गन्तव्यहीन त्यस्तो गठबन्धन एमालेले नगर्ने हो ।’
सोमबार बिहान जनकपुर आइपुगेका अध्यक्ष ओलीले नेपाल बुद्धिजीवी परिषद्को प्रथम मधेश प्रदेश अधिवेशनलाई उद्घाटन गर्दै पाँच दलीय गठबन्धनको सरकार देशका लागि कुनै पनि हिसाबले हितकर नरहेको दाबी गरे ।
उनले राजनीतिक, धार्मिक र सामाजिक सांस्कृतिक हिसाबले पनि वर्तमान गठबन्धन सरकार देश र जनताका लागि घातक रहेको जिकिर गरेका थिए । अध्यक्ष ओलीले राष्ट्रियताको हिसाबले पनि गठबन्धनले समग्र प्रणालीलाई नै संकटमा पार्ने काम गरिरहेको आरोप लगाए ।
संतोष यादव, रुही नाजसहित दर्जनौ प्रवेश
विभिन्न पार्टी परित्याग गरी नेता तथा कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस धनुषाका पूर्व उपसभापति सन्तोष यादव, जनता समाजवादी पार्टीकी प्रतिनिधिसभा सदस्य रुही नाज, प्रदेशसभा सदस्य अंजु यादव, लोकतान्त्रिक समाजवादी पार्टीका नेता एवम् पूर्व राज्यमन्त्री अरविन्द साह, नेपाली कांग्रेसकी नेतृ विजेता झा लगायतका नेता कार्यकर्ताहरु एमाले प्रवेश गरेका छन् ।
उनीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले माला तथा गम्छा लगाएर पार्टीमा स्वागत गरेका छन् ।
आगामी ४ मंसिरमा हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा धनुषा निर्वाचन क्षेत्र नम्बर ४ को ‘ख’ बाट एमालेको तर्फबाट प्रदेशसभा सदस्यका लागि टिकट पाउने पक्कापक्की भएपछि सन्तोष यादव कांग्रेस परित्याग गरी एमालेमा प्रवेश गरेका हुन् ।
कालो झण्डा देखाउने ११ पक्राउ
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नागरिकता विरोधी भन्दै जनकपुरमा कालो झण्डा देखाई विरोध जनाइएको छ । दुई दुई पटक सदनबाट पारित भई राष्ट्रपति विद्या देवी भणडरीले प्रमाणीकरण गर्न बाँकी रहेको नागरिकता विधेयकमा नेकपा एमाले सदनदेखि सडकसम्म विरोध जनाउँदै आएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जनकपुर आएको बेलामा नागरिकताविहीन युवाहरुले कालो झण्डा देखाई विरोध जनाएका हुन् । ओलीलाई कालो झण्डा देखाएको आरोपमा ११ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । जनकपुर एयरपोर्टबाट तिरुहुतीया गाछी सभास्थल जाने बेलामा क्याम्पस चोक अगाडि नागरिकता विहीन युवाहरूले कालो झण्डा देखाउने तथा सवारी अवरुद्ध गर्ने प्रयास गरेको प्रहरीको भनाई छ ।
२०५ किलोको मालाले स्वागत
जनकपुरधाममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई २०५ किलोको मालाले स्वागत गरिएको छ ।
जनकपुर नगर कमिटीले एमालेको जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन आएका अध्यक्ष ओलीलाई मालाले स्वागत गरिएको हो । पार्टीका केन्द्रीय सचिव रघुवीर महासेठ, पोलिटब्युरो सदस्य जुलीकुमारी महतो, जिल्ला अध्यक्ष राजकिशोर यादव, नगर अध्यक्ष सुरेन्द्र भण्डारी लगायले उनलाई २०५ किलोको माला लगाएर स्वागत गरेका हुन् ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech