जनकपुरधाम । राष्ट्रपति विद्या देवी भण्डारीको कदमलाई असंवैधानिक बताउँदै लोकतान्त्रिक मधेशी फ्रन्टले आउँदो असोज ३ गते विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ ।
तराई मधेश लोकतान्त्रिक पार्टी(तमलोपा) र नेपाल सद्भावना पार्टीले हालै गठन गरेको लोकतान्त्रिक फ्रन्टको सोमबार बसेको बैठकले असोज ३ गतेलाई कालो दिनको रुपमा समेत स्मरण गर्दै विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो । कार्यपालिका र व्यवस्थापिकाबाट दुई / दुई पटक बहुमतले पारित नेपाल नागरिकता ऐन संशोधन विधेयक राष्ट्रपति भण्डारीले प्रमाणीकरण गर्न मानेकी छैनन् । संविधान विपरित राष्ट्रपतिको कार्यपालिका र व्यवस्थापिकाको कार्यमा अनुचित हस्तक्षेप गर्ने कार्यको भत्र्सना समेत गरेको छ । राष्ट्रपति भण्डारीको गैरसंवैधानिक कदम अस्वीकार्य रहेको लोकतान्त्रिक मधेशी फ्रन्टले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
बैठकले प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा क्षेत्रहरुको अध्ययन गरी सम्भावना अनुसार आपसी सहमतिमा संयुक्त उम्मेदवाहरु प्रस्तुत गर्ने भएको छ । बैठकले योग्य व्यक्तिहरुलाई उम्मेदवारको लागि अगाडि आउन आह्वान समेत गरेको छ । मधेशका मुद्दा र लोकतन्त्रलाई केन्द्रमा राखी मधेशका सबै लोकतान्त्रिक शक्तिहरुलाई एकजुट हुन तमलोपाका वरिष्ठ नेता डा. विजय कुमार सिंह र नेपाल सद्भावना पार्टीका सहमहासचिव डा. रविन्द्र कुमार चौधरी(राजेश) द्वारा संयुक्त हस्ताक्षरित विज्ञप्तिमार्फत अपिल गरिएको छ ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech