जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले विकास निर्माणको नाउँमा प्रकृतिको विनास भइरहेकोमा चिन्ता व्यक्त गरेका छन् ।
विकास निर्माणको नाउँमा प्रकृति विनासको क्रम रोक्नुपर्नेमा उनले जोड दिए ।
जनकपुरधाममा सोमबार आयोजित मानव विकास प्रतिवेदन २०२१ / ०२२ सार्वजनिकीकरण कार्यक्रममा मुख्यमन्त्री राउतले विश्वले विकासमा फड्को मारेपनि मानव जीवन अस्तव्यस्त हुँदै जानु चिन्ताको विषय रहेको बताए ।
प्रत्येक ८ जनामा एक जना व्यक्ति मानसिक तनावमा रहेको तथ्यांक प्रतिवेदनले प्रष्टाएको उल्लेख गर्दै मुख्यमन्त्री राउतले भौतिक विकासमात्रै विकास नरहेको बताए ।
मुख्यमन्त्री राउतले सामाजिक रुपान्तरण र पर्यावरण संरक्षणसहितको विकास अवको मुल लक्ष्य हुनु पर्नेमा जोड दिए ।
मानव विकास प्रतिवेदनले औल्याएका विषय वस्तुहरु सरकारलाई आगामी नीति निर्माणमा सहायक हुने उनको कथन थियो ।
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. राम केवल साहको अध्यक्षतामा भएको कार्यक्रममा नीति आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा, मधेश कृषि विश्वविद्यालयका रजिष्टार डा. भगवान ठाकुर लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech