मलंगवा । सर्लाहीमा केही दिनदेखि बच्चा चोर को हल्लाले आतङ्क फैलिएको छ । विशेष गरी जिल्लाको दक्षिणी भेगमा भारतबाट बच्चा चोर आएको भन्दै अफवाह फैलदा स्थानीय आतङ्कित बनेका छन् । दक्षिणी भेगका अधिकांश विद्यालय र वडा कार्यालयले समेत हल्लालाई बढवा दिने गरी बच्चा चोर सक्रिय भएको र आफ्ना बालबालिकाको ख्याल गर्न भन्दै सूचना नै जारी गरेका छन् ।

सदरमुकाम मलङ्गवा, कौडेनालगायतको क्षेत्रका निजी तथा सामुदायिक विद्यालयले हल्लाको पछि लागि वास्तविक कुरा बुझ्दै नबुझी सूचना जारी गर्न थालेका हुन् । जनता माध्यमिक विद्यालय कौडेना–३, का प्रधानाध्यापक नागेन्द्रप्रसाद यादवले सामाजिक सञ्जालभर बच्चा चोर सक्रिय भएको भन्दै हल्लाखल्ला भएपछि सूचना निकालेर अभिभावकलाई सचेत गराइएको बताए ।

प्रधानाध्यापक यादवले जिल्ला प्रशासन कार्यालयमा बुझ्दा हल्लामा कुनै सत्यता नरहेको पुष्टी भएपछि सूचना निकालेर गल्ती गरेको महशुस भएको बताए । विद्यालयले सामाजिक सञ्जालमा राखेको सूचना हटाउने प्रधानाध्यापक यादवले बताएका छन् ।

मलङ्गवातिर बच्चा चोर देखिए भन्दै फेसबुकलगायतका सामाजिक सञ्जालमा जताततै आयो, त्यसपछि हामीले अभिभावकलाई बालबालिकाको राम्रोसँग ख्याल गर्नुस् भनेर सूचना निकालेकै हो, प्रधानाध्यापक यादवले भने–जिल्ला प्रशासनमा बुझ्दा त हल्ला मात्रै रहेछ ।

 

जिल्लाको पर्सा गाउँपालिकाको वडा नं. २ ले पनि हल्लाकै आधारमा केही व्यक्तिले विभिन्न रुप धारण गरी बच्चा चोरी गरिरहेकाले सचेत हुन भन्दै अफवाह फैलाउने हिसाबले सूचना जारी गरेको छ । वडाध्यक्ष राकेश रामले सामाजिक सञ्जालमा भइरहेको हल्लाकै आधारमा सूचना जारी गरेको बताए ।

सर्लाही प्रहरीले भने बच्चा चोर सक्रिय भएको हल्लामा कुनै सत्यता नरहेको जनाएको छ । सर्लाहीका प्रहरी उपरीक्षक प्रविण पोखरेलले अफवाह फैलाएर आतङ्कित पार्ने काम नगर्न आग्रह गरेका छन् ।

बच्चा चोर भन्दै जिल्लाको विभिन्न स्थानबाट स्थानीयले अहिलेसम्म पाँच जनालाई पक्राउ गरी प्रहरीमा बुझाएका र उनीहरुबारे सोधखोज गर्दा कोही मानसिक सन्तुलन ठीक नभएका र कोही मागेर खाँदै हिँड्ने मानिसहरु रहेका पाइएको प्रहरी उपरीक्षक पोखरेलले बताए ।

गलत हल्ला फैलाएर मानिसलाई त्रसित बनाउने काम मात्रै भएको छ, प्रहरी उपरीक्षक पोखरेलले भने स्थानीयले बच्चा चोर भन्दै हामीलाई बुझाएका कोही मानसिक सन्तुलन गुमाएर सडकमा हिँड्ने र कोही मागी खान्दै हिँड्नेहरु रहेको पाइएको छ ।

प्रहरी उपरीक्षक पोखरेलले केहीलाई अनुहार र भेषभुषा हेरेरै बच्चा चोर को आरोप लगाएको पाइएको जानकारी दिए ।

सम्बन्धित खवर