जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकामा मंगलबार बिहान एक महिलाको शव फेला परेको छ । शहीदनगर नगरपालिका–३ यदुकुहा बजार बस्ने २६ वर्षीया बबितिया देवी मण्डलको शव बाँसघारीमा फेला परेको छ । मण्डलको शव अर्धनग्न अवस्थामा घोप्टो परेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय यदुकुहाका प्रहरी निरीक्षक हरि विष्णु ढकालले बताए ।

घटनास्थलको प्रारम्भिक मुचुल्का अनुसार महिलाको बलात्कार गरि घाँटी थिचेर हत्या गरिएको आशंका प्रहरीको छ । पोष्टमार्टम रिपोर्ट आएपछि घटनाको तथ्य सार्वजनिक हुने जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरिक्षक बसन्त रजौरेले बताए ।

मृतक महिला यदुकुहा बजारमा इन्द्र पूजाको अवसरमा आयोजित सांस्कृतिक कार्यक्रम हेर्न गएको पारिवारिक श्रोतले जनाएको छ । प्रहरी उपरिक्षक रजौरेले तालिम प्राप्त कुकुरसहित घटना स्थल पुगेर छानविन भइरहेको बताए ।

मृतक महिलाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा ल्याइएको छ । मृतक महिलाकी ३ वर्षीया एक छोरी छन् । केही वर्ष अघि उनले अन्तरजातीय विवाह गरेकी थिइन् । श्रीमान अरुण दास चार वर्षदेखि वैदेशिक रोजगारको सिलसिलामा देश बाहिर छन् । बबितिया मण्डल र अरुण दसको अन्तरजातीय बिबाह राजीखुसीले नभएको स्थानीयले बताए । स्थानीयका अनुसारललितियाको माइती र ससुराल आमुने सामुनेमा रहेको छ ।

स्थानीयका अनुसार इन्द्रपुजा मेलाको अन्तिम दिन सोमबार अपरान्ह उनले छोरीलाई मेला देखाएर घर फर्केकी थिइन् । छोरीलाई घरमा राखेर उनी पुनः मेलातिर लागेको छिमेकीहरुले बताए । मेलातिर गएपछि फर्केर नआएको उनीहरु बताउँछन् ।

सम्बन्धित खवर