लालबन्दी । सर्लाहीको सबैभन्दा दुर्गम भेगमा पर्ने नारायण खोलामा चार महिनादेखि यातायात ठप्प हुँदा स्थानीय मारमा परेका छन् ।
सडक सञ्जालमा नजोडिएको चुरेभेगस्थित नारायण खोलामा बाढी आएर खोलाको बाटो बिगारेपछि गएको जेठ पहिलो सातादेखि यातायातका साधन सञ्चालन हुन सकेका छैनन् । खोलामा पानी कम भएको बेला किराना पसल सञ्चालकले निकै मुस्किलले ट्याक्टरमार्फत खाद्यान्न सामग्री ढुवानी गर्दै आइरहेका छन् ।
यात्रुबाहक बस भने जेठ देखि नै पूर्णरुपमा ठप्प भएको हो । दशैँ नजिकिरहेका बेला बस सञ्चालन नहुँदा नारायण खोलावासी निरास बनेका छन् । लालबन्दी नगरपालिकाको वडा नं. १४ मा पर्ने साबिकको सिंगो नारायण खोला गाविसबाट पत्थरकोटसम्म आउँदा खोलाको बगर प्रयोग गर्नुपर्ने बाध्यता छ ।
गाडी नचल्दा नारायण खोलाको माथिल्लो भेगका वासिन्दा लालबन्दी बजारसम्म आउन चार÷पाँच घन्टासम्म पैदल हिँड्नुपर्ने बाध्यता छ । पत्थरकोटदेखि लालबन्दीसम्म टेम्पु लगायतका अन्य सवारी चले पनि गाउँबाट पत्थरकोटसम्म आइपुग्न चार घन्टा पैदल हिँड्नुपर्ने बाध्यता रहेको नारायण खोला पन्ध्रविगाह गाउँका लालबहादुर पाख्रिनले गुनासो गरे ।
चुरेभेगमा दिनहुँजसो वर्षा भइरहेकाले खोला बाढी आउँदा बजार भर्नका लागि पत्थरकोटसम्म पैदल हिँडेर आउन समेत समस्या भइरहेको उनले गुनासो गरे । निरन्तर वर्षा भएर जमिन हिलो भएकाले स्थानीय किसानले कोदो, मकैलगायतका बाली लगाउन नपाएका पाख्रिनले जानकारी दिए ।
स्थानीयलाई बिरामी पर्दा लालबन्दीसम्म औषधि उपचारका लागि आउन गाह्रो परिरहेको छ । नारायण खोलासहित उत्तरी चुरेभेगमा सोमबार दिउँसोपख पनि केहीबेर हावाहुरीसहित एकझर ठूलै पानी परेको स्थानीयले बताएका छन् ।
नारायण खोलाका वडाध्यक्ष छेनामसिंह घिसिङले यो वर्ष दशैँअघि गाडी चल्ने सम्भावना कम रहेको बताए । वडाध्यक्ष घिसिङले दशैँको दुई÷चार दिन अघिसम्म पनि पानी पर्न रोकिए खोलाको बाटो मर्मत गरी बस सञ्चालनको पहल गरिने बताए । खोलाको बाटो बिग्रिएका कारण चुरेभेगमै पर्ने लालबन्दी नगरपालिका–१५, शीर कालिञ्जोर र ईश्वरपुर नगरपालिका–१२, पीपलदमार क्षेत्रमा पनि गाडी चल्न सकेका छैनन् ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech