काठमाण्डौ । सत्ता गठबन्धनले प्रत्यक्षतर्फ ११० भन्दा बढी निर्वाचन क्षेत्रको सिटको टुंगो लगाएको छ । गठबन्धनमा आवद्ध दलका नेताहरुका अनुसार प्रत्यक्षतर्फ १६५ मध्ये ११० भन्दा बढी निर्वाचन क्षेत्रको सिट बाँडफाँटमा सहमति भइसकेको छ । मधेश प्रदेशका ३२ सिटमा मध्ये केही निर्वाचन क्षेत्रमा मात्रै सहमति हुन सकेको छ । धनुषा निर्वाचन क्षेत्र नं. ४ बाहेक अन्य कुनै क्षेत्रमा सहमति जुट्न सकेको छैन् । धनुषा–४ कांग्रेसले लिने सहमति भएको छ । धनुषाको १ मा माओवादी र जसपा, २ र ३ मा कांग्रेस र जसपा दुबैको दाबी छ । तीनै क्षेत्रमा जसपाले दावी गरेपनि क्षेत्र नं. २ मा सहमति हुन सक्ने एक नेताले बताए ।
यसैगरी महोत्तरी क्षेत्र नम्बर १ मा माओवादी, २ मा कांग्रेस, ३ र ४ जसपाको भागमा पर्ने पक्काजस्तै भएको छ ।
सर्लाहीको १ मा जसपा र कांग्रेस, २ मा कांग्रेस, माओवादी र जसपाको दाबी छ भने ३ मा माओवादी र कांग्रेसको दावी छ ।
रौतहटको क्षेत्र नम्बर १ एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई छाड्न सबै दल सहमत छन् भने क्षेत्र नम्बर ४ मा कांग्रेसको मात्र दाबी छ । बाँकी २ क्षेत्रमा भने तीन–तीन दलको दाबी छ । २ मा कांग्रेस, माओवादी र जसपाको दाबी छ भने ३ मा कांग्रेस, एकीकृत समाजवादी र माओवादीको दाबी छ ।
बारा क्षेत्र नम्बर १ कांग्रेस, २ जसपाले लिने सहमति भएको छ । ३ मा कांग्रेस र जसपा तथा ४ मा माओवादीसँगै एकीकृत समाजवादी र जसपाको पनि दाबी छ ।
पर्सामा कुनै सहमति जुटेको छैन । कांग्रेसले १, २ र ४ मा दाबी गरेको छ भने जसपाले ४ वटै क्षेत्रमा दाबी गरेको छ । माओवादी र एकीकृत समाजवादीका नेताहरुले भने एक–एक सिट आफ्नो दलले पाउनुपर्ने मत राखेका छन् ।
सप्तरीको १ मा कांग्रेस र जसपाको दाबी छ भने २ र ३ जसपा तथा ४ कांग्रेसले लिने सहमति भएको छ ।
सिरहा १ मा कांग्रेस र ४ मा जसपालाई दिन दलहरु सहमत छन् २ मा कांग्रेस, जसपा र एकीकृत समाजवादी तथा ३ मा कांग्रेस, माओवादी र जसपाको दाबी छ ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech