जनकपुरधाम । भाइबुहारीको हत्या आरोपमा धनुषा प्रहरीले जेठाजुलाई पक्राउ गरेको छ ।

शहीदनगर नगरपालिका–३ बस्ने बबितिया देवी मण्डललाई हत्या गरेको आरोपमा उनका जेठाजु वीरेन्द्र दासलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरेर बबितियाका जेठाजु वीरेन्द्र दासलाई सार्वजनिक गरेको हो ।

गएको भदौ २८ गते बिहान धनुषाको शहिदनगर नगरपालिका–३ यदुकुहा नजिकको बाँस घारीमा स्थानीय अरुण कुमार दासका २८ वर्षीया पत्नी बबितिया देवी मण्डल मृत अवस्थामा फेला परेकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट तत्काल खटिएको अनुसन्धान टोलीले सोधपुछ तथा प्राविधिक विश्लेषण गर्दै जाँदा मृतकका जेठाजु वीरेन्द्र दासले आफ्नो भाइ बुहारी बबितिया देवीसँगको अनैतिक सम्बन्ध लुकाउनको लागि हत्या गरेको तथ्य खुलेको प्रहरी उपरीक्षक बसन्त रजौरेले बताए । केही दिन अघिदेखि जेठाजु र भाइबुहारीबीच अनैतिक सम्बन्ध थियो ।

आफूहरूबिचको अनैतिक सम्बन्ध बिस्तारै भाइ तथा गाउँ समाजका मानिसहरूले थाहा पाउने शंकामा उनलाई मार्ने योजना बनाएको वीरेन्द्रले स्वीकार गरेका छन् ।

गएको भदौ २७ गते वीरेन्द्रले आफ्नो सालो शत्रोहन दास र काका नाता पर्ने उमेश दाससँग मिलेर बबितिया देवी सुतिरहेको अवस्थामा तीनै जनाले कोठाभित्र गई डोरीले घाँटी कसेर हत्या गरेको प्रहरीले बताए ।

प्रहरी उपरीक्षक रजौरेले भने, ‘बबितियालाई मारिसकेपश्चात् गाउँघरमा मानिसहरू अझै सुतिनसकेकोले तीनै जना मिलेर मृतकको शवलाई खाटमुनि लुकाई उक्त कोठामा ताल्चा लगाएर मेला हेर्न गएका थिए । मेला हेरेर राती १२ बजेतिर वीरेन्द्र दास, शत्रोहन दास र उमेश दास मिलेर मृतकको शव घरबाट लगेर बाँस घारीमा फालेका थिए । शव बाँस घारीमा फालिसकेपछि ‘अरू कसैले बलात्कार गरेर मारेको हो’ भन्ने घटना देखाउनका लागि तीनै जनाले मृतकले लगाएको ब्लाउज र चप्पल घटनास्थलमा राखेका थिए ।’

घटनामा संलग्न शहिदनगर नगरपालिका–३ बस्ने मृतकको जेठाजु २४ वर्षीय वीरेन्द्र दास, सोही ठाउँ बस्ने मृतकको जेठाजुको आफ्नै काका १९ वर्षीय उमेश दास र वडा नम्बर–७ धवौली बस्ने वीरेन्द्रका १९ वर्षीय सालो शत्रोहन दासलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

बबितियाको अरुणसँग मागी विवाह भएको थियो । विवाहपश्चात् अरुण वैदेशिक रोजगारमा गएका थिए । अरुण वैदेशिक रोजगारमा लागेपछि बबितिया र उनका जेठाजु वीरेन्द्रबीच अनैतिक सम्बन्ध स्थापित भएको थियो । पक्राउ प्रतिवादीहरू उपर ज्यान सम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दा शीर्षकमा म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

 

आमाको हत्या गर्ने छोरा पक्राउ

 

जनकपुरधाम । आफ्नै आमाको हत्या गरेको अभियोगमा धनुषा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषाको सबैला नगरपालिका–५ मखनाहा बस्ने २५ वर्षीय मनोज मण्डल रहेका छन् ।

बिहीबार राति सबैला नगरपालिका–५ मखनाहा बस्ने रामसेवक खत्वे मण्डलको ४० वर्षीया पत्नी सिकिलिया देवी मण्डल आफ्नो घरको छतमा मृत अवस्थामा फेला परेकी थिइन् ।

 

जिल्ला प्रहरी कार्यालय धनुषाबाट तत्काल अनुसन्धानका लागि खटिएको टोलीले अनुसन्धान गर्दै जाँदा मृतकको २५ वर्षीय छोरा मनोजले मादक पदार्थ सेवन गरी कुटपिट गरेर आमाको हत्या गरेको देखिएको प्रहरी उपरीक्षक रजौरेले जानकारी दिए ।

घरायसी विवादमा आमाको टाउकोमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताए । हत्याको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सबैलाबाट खटिएको प्रहरीले मनोजलाई मध्य राति नै पक्राउ गरेको थियो । पक्राउ परेका मनोजउपर ज्यान सम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दा शीर्षकमा म्याद थप गरी अनुसन्धान भइरहेको उनले बताए ।

 

 

 

तरबार प्रहार गरेर हत्या गर्ने पक्राउ

जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिका–५ मा गत वर्ष तलबार प्रहार गरेर हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धनौजी गाउँपालिक–५ बहुअर्वा बस्ने २३ वर्षीय राजीव कुमार मण्डल रहेका छन् । राजीवाई धनुषा प्रहरीले इन्टरपोलको सहयोगमा कतारबाट पक्राउ गरेर ल्याएको हो ।

हत्या गरेर राजीव वैदेशिक रोजगारमा कतार भागेका थिए । उनी विरुद्ध धनुषा प्रहरीले रेड कर्नर नोटिस जारी गरेर इन्टरपोलको सहयोगले पक्राउ गरेको हो ।

उनलाई बिहीबार मात्रै जनकपुर ल्याइएको हो ।

 

२०७८ भदौ २६ गते धनौजी गाउँपालिका–५ बहुअर्वा बस्ने रामअशिष मण्डलका छोरा सरोज कुमार मण्डललाई ज्यान मार्ने उद्देश्यले मनिष कुमार मण्डल र राजीव कुमार मण्डलले धारिलो हतियार (तरवार) प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।

पक्राउ परेकाहरुले घाइते सरोजलाई उपचार खर्च ४ लाख ९२ हजार २५९, अनिल मण्डलको उपचार खर्च ६९ हजार ३०० र बजरंग प्रसाद राउतको उपचार खर्च ३ हजार १३० रुपैयाँ तिर्ने फैसला गर्दै धनुषा जिल्ला अदालतले २०७८ पुस १९ गते पक्राउ परेकालाई रिहा गर्न आदेश गरेको थियो ।

उपचारको क्रममा २०७८ चैत २८ गते काठमाडौंस्थित ट्रमा सेन्टरमा सरोजको मृत्यु भएको थियो ।

सरोजका पिता रामनन्दन मण्डलले २०७९ वैशाख ४ गते प्रतिवादीहरूलाई पक्राउ गरी ज्यान सम्बन्धी कसुरमा आवश्यक कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिएका थिए ।

राजिवलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास तथा पक्राउ गर्नका लागि ‘रेड कर्नर नोटिस’ जारी गरी उनलाई तालुक कार्यालयको समन्वयमा नेपाल ल्याइएको थियो ।

 

 

 

 

सम्बन्धित खवर