जनकपुरधाम । सिफारिसमा परेका लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) का नेताहरु पार्टी छाड्न थालेका छन् ।
धनुषा–२ बाट प्रतिनिधिसभा निर्वाचनको लागि एकल नाम सिफारिस भएको पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले आउँदो असोज ८ गते एमाले प्रवेश गर्ने पक्का भएको छ । यस्तै, धनुषा–१ बाट प्रतिनिधिसभा निर्वाचनको लागि एकल नाम सिफारिस भएको रामबाबु यादव पनि नेकपा एमाले प्रवेश गर्ने भएको छ ।
यादवले अरगरियासँगै एमाले प्रवेश गर्न लागेको सामाजिक संजालमार्पmत जानकारी दिएका छन् ।
नेता यादव गएको बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा जनता समाजवादी पार्टी(जसपा) छाडेर लोसपा प्रवेश गरेका थिए ।
बैशाख १२ गते लोसपा प्रवेश गरेर यादवले धनुषाको गणेशमान चारनाथ नगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराएका थिए । उनी गणेशमान चारनाथ नगरपालिकाका निवर्तमान मेयर हुन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा उनी तत्कालीन संघीय समाजवादी पार्टीबाट मेयरमा निर्वाचित भएका थिए ।
२०७९ को निर्वाचनमा टिकट नदिने भएपछि उनी अन्तिम समयमा लोसपा प्रवेश गरेर उम्मेदवारी दिएका थिए ।
आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको लागि लोसपाले धनुषा–१ बाट यादवको एकल नाम सिफारिस गरेको हो । यादवको नाम जिल्लाबाट प्रदेश हुँदै केन्द्रमा समेत सिफारिस भइसकेको छ । लोसपा पाँच दलीय गठबन्धनमा सामेल नभए धनुषा–१ बाट उनको टिकट पक्का थियो । लोसपामा भविष्य नदेखिएको भन्दै नेता यादवले नेकपा एमाले प्रवेश गर्न लागेका हुन् । नेकपा एमालेबाट उनले टिकट पाउने सम्भावना कम छ । धनुषा–१ बाट प्रतिनिधिसभा निर्वाचनको लागि सविता यादव, किशोरी साह, रामसिंह यादव, रामचन्द्र मण्डल लगायतको नाम सिफारिस भएको छ । रामबाबु प्रवेश गरेपछि उनी धनुषा–१(ख) बाट प्रदेशसभा सदस्यको लागि टिकट पाउन सक्ने सम्भावना छ ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech