जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) ले असोज ३ गते विरोध दिवस मनाउने निर्णय गरेको छ ।
भदौ ३१ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले नेपालको संविधान २०७२ अभैm स्वीकार्य गर्ने अवस्था नरहेको भन्दै असोज ३ गते विरोध दिवस मनाउने निर्णय गरेको हो ।
यसअघि लोसपाले असोज ३ गते कालो दिवस मनाउँदै आएको थियो । नेपालको संविधान जारी भएको दिन असोज ३ गते देशभर संविधान दिवस मनाउने गरिएको छ । तर, मधेशवादी दलहरुले भने असोज ३ लाई कालो दिनको रुपमा मनाउँदै आएको छ । यस वर्ष पनि लोसपाले संविधान संशोधन नभएको भन्दै विरोध दिवस मनाउन लागेको हो ।
पार्टीले पालिकास्तरसम्म विरोध दिवस मनाउन नेता कार्यकर्ताहरुलाई आग्रह समेत गरेको छ ।
पार्टी अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा बसेको बैठकले नागरिकता सम्बन्धी विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरे संघर्षमा उत्रिने निर्णय गरेको हो ।
निर्धारित समय भित्र राष्ट्रपतिले नागरिकता सम्बन्धी विधेयक प्रमाणीकरण नगरे संघर्षमा उत्रिने अध्यक्ष ठाकुरद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । नागरिकता सम्बन्धी विधेयक प्रमाणीकरण गर्ने समयसीमा असोज ४ गतेसम्म छ ।
निर्धारित समयभित्रै विधेयक प्रमाणीकरण गरेर नागरिकता विहीन रहेका लाखौ नेपाली युवाहरुको भविष्य सुरक्षित गर्नको लागि लोसपाले राष्ट्रपति भण्डारीलाई आग्रह समेत गरेको छ । बैठकले भदौ ३० गते गठबन्धन सरकारले टिकापुर घटना सम्बन्धी मुद्दा खारेज गरेको निर्णयको स्वागत गरेको छ । टिकापुर जस्तै महोत्तरीको जलेश्वर घटनाको पनि मुद्दा खारेज गर्नको लागि आग्रह गरेको छ ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech